काठमाडौं। जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक अघि बढाएको छ। कम्पनीले साधारणसभाको निर्णयअनुसार जारी पुँजी संरचना तय गर्दै आईपीओ प्रक्रियाका लागि आवश्यक पेशागत सेवा प्रदायक संस्थाहरू नियुक्त गरेको जनाएको छ।
कम्पनीका अनुसार मिति २०८२ मंसिर २२ गते सम्पन्न साधारणसभाले दुई अर्ब ५० करोड रुपैयाँ जारी पुँजी कायम गर्ने निर्णय गरेको थियो। उक्त पुँजीमध्ये दुई अर्ब रुपैयाँ प्रवर्द्धक सेयरअन्तर्गत रहने छ। ५० करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने छ।
आईपीओ प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानुनी एवं नियामक ढाँचाअनुसार अघि बढाउन कम्पनीले ऋण मूल्यांकन संस्था (क्रेडिट रेटिङ एजेन्सी)का रुपमा केयर एज रेटिङ्स लिमिटेडलाई नियुक्त गरेको छ।
त्यस्तै, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक (इस्यु म्यानेजर)को जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको छ। जनता एग्रो एण्ड फरेस्ट्रीले कृषि तथा वन पैदावारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकतापूर्ति गर्ने लक्ष्यसहित काम गर्दै आएको जनाएको छ।
कम्पनीले ‘खेतीदेखि विक्रेता’ सम्म गुणस्तरीय उत्पादन तथा आपूर्ति प्रणाली विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको उल्लेख गरेको छ।
कम्पनीका अनुसार विभिन्न व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट प्राप्त विश्वास, सहभागिता र समर्थनले संस्थागत विकास तथा बजारप्रतिको विश्वसनीयता थप मजबुत बनाउन सहयोग पुगेको छ। आगामी दिनमा कम्पनीले अझ उत्तरदायी, व्यवस्थित र दीगो व्यावसायिक यात्रालाई अगाडि बढाउने विश्वास व्यक्त गरेको छ।