काठमाडौं। नयाँ सरकार गठनपछि निरन्तर ओरालो लागेको शेयर बजारप्रति लगानीकर्ताको विश्वास घट्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह -बालेन_ले सोमबार पुँजी बजारका नियामक निकाय र लगानीकर्ता प्रतिनिधिहरूसँग संयुक्त छलफल गरेका छन्।
प्रधानमन्त्री निवासमा भएको छलफलमा धितोपत्र बोर्ड -सेबोन_, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), स्टक ब्रोकर तथा लगानीकर्ता प्रतिनिधिहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै बजारको विकासका लागि आवश्यक नीतिगत सुधार र सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बैठकमा सहभागी इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई लगानी वृद्धि, रोजगारी सिर्जना र राजस्व वृद्धिको प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
"प्रधानमन्त्रीज्यूले हाम्रो कुरा गम्भीरतापूर्वक सुन्नुभयो। बजारप्रति उहाँ निकै सकारात्मक देखिनुभयो। बजारका विकृति हटाएर स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन छिट्टै दिने प्रतिबद्धता व्यक्त गर्नुभयो," पौडेलले भने।
करिब एक घण्टा चलेको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन तथा बजार सुधारका विषयमा धारणा राखेका थिए। नेप्सेका अध्यक्ष अमृत लम्सालले दोस्रो बजार सुधारका उपाय प्रस्तुत गरेका थिए भने स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले ब्रोकर र लगानीकर्ताको तर्फबाट सुझाव दिएका थिए।