काठमाडौं। नेपाल प्रहरीले ६ महिने अवधिमा देशभरबाट सम्पत्ति शुद्धीकरण मुद्दामा १०३ जना र राजस्व चुहावटलगायत गतिविधिमा संलग्न ७५८ गरी ८६१ जनालाई कारबाही गरेको छ। प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३१० रुपैयाँ बिगो रकम दाबीसहित प्रतिवादीविरुद्ध कानुनी कारबाही गरेको हो।
यस्तै, १ अर्ब बराबरको सुनचाँदी, भन्सार छली, हुन्डी, स्रोत नखुलेको रकमलगायत राजस्व चुहावटका गतिविधिमा संलग्न ७५८ जना व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ।
यो अवधिमा लागूऔषध कारोबारमा संलग्न ४६६ जना व्यक्तिलाई पक्राउ परेका छन्। गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेटसमेत बरामद भएको प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ।
सोही अवधिमा १११०९ जना फरार प्रतिवादीलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रुपैयाँ बराबरको जरिवाना असुलउपर गरिएको छ।
प्रहरीका अनुसार अवैध हातहतियार तथा विस्फोटक पदार्थसहित १ सय २७ जनालाई पक्राउ गरिएको प्रहरी विवरणमा उल्लेख छ।