काठमाडौं। जुन महिनामा परेको रेकर्ड स्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) बराबरको क्षति बेहोरेको नयाँ अध्ययनले देखाएको छ। अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।
लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई)को ग्रान्थम रिसर्च इन्स्टिच्युट र युरो-मेडिटेरेनियन सेन्टर अन क्लाइमेट चेन्ज (सीएमसीसी)ले सार्वजनिक गरेको अध्ययनअनुसार निर्माण र कृषि क्षेत्रका कामदारले अत्यधिक गर्मीका कारण आफ्नो काम गर्ने समय उल्लेखनीय रूपमा घटाएका थिए। तुलनात्मक रूपमा कम शारीरिक श्रम हुने पेशामा कार्यरत व्यक्तिहरूमा यस्तो प्रभाव कम देखिएको अध्ययनले जनाएको छ।
अध्ययनअनुसार जुन २२ परेको सातामा कामदारहरूले औसतमा शून्य दशमलव ४७ घण्टा कम काम गरेका थिए। त्यस्तै, ३.६ प्रतिशत उत्तरदाता अर्थात् करिब १२ लाख ५० हजार कामदार अत्यधिक गर्मीका कारण त्यो साताभर काममा उपस्थित हुन सकेनन्।
अनुसन्धानकर्ताले काम गर्ने समय, निद्राको गुणस्तर तथा कार्यस्थलसम्म पुग्ने क्रममा गर्मीले पारेको प्रभावसमेत अध्ययन गरेका थिए। अधिकांश उत्तरदाताले निद्रामा अवरोध, कामका क्रममा थकान, चक्कर लाग्ने, बेहोस हुने तथा मुटुको धड्कन असामान्य रूपमा बढ्ने जस्ता कम्तीमा एउटा स्वास्थ्य समस्या अनुभव गरेको बताएका छन्।
गत जुनमा बेलायतसँगै फ्रान्स र अन्य युरोपेली मुलुकहरूले पनि असाधारण गर्मीको सामना गरेका थिए। त्यसक्रममा यातायात सेवा, विद्यालय र अस्पतालको नियमित सञ्चालन प्रभावित भएको थियो भने अत्यधिक गर्मीसँग जुध्न पूर्वाधार पर्याप्त रूपमा तयार नरहेको विषयमा पनि चिन्ता व्यक्त गरिएको थियो।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसमीय घटना झन् बारम्बार र तीव्र बन्दै गएको चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा इङ्गल्यान्डले यस वर्षको जुन महिनालाई आफ्नो इतिहासकै सबैभन्दा तातो जुनका रूपमा अभिलेख गरेको छ।