काठमाडौं। सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको पहुँचमा वृद्धि भएको र डिजिटल कारोबारमा उत्साहजनक सुधार आएको देखाएको छ। तर, आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा प्रवाहको वृद्धिदर घटेको र बैंकहरूको निष्क्रिय कर्जा (एनपिएल) मा भने वृद्धि भएको सर्वेक्षणले औँल्याएको छ।
वित्तीय पहुँच र विस्तार
२०८२ फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार २ सय २२ पुगेको छ। यस्तै, कर्जा खाताको संख्या २० लाख ४० हजार १ सय ४८ पुगेको छ। हाल २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त र १ पूर्वाधार विकास बैंक गरी कुल १०६ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्। बैंकहरूको शाखा सञ्जाल विस्तार भएसँगै प्रति शाखा औसत जनसंख्या २ हजार ५ सय ४४ कायम भएको छ।
निक्षेप र कर्जाको अवस्था
चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। निजी क्षेत्रतर्फ प्रवाहित कर्जा भने ४.४ प्रतिशतले मात्र वृद्धि भई ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जाको माग कम हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएको सर्वेक्षणले जनाएको छ।
निष्क्रिय कर्जामा वृद्धि बैंकहरूको वित्तीय स्वास्थ्यसँग जोडिएको निष्क्रिय कर्जाको अनुपातमा भने केही चाप देखिएको छ। २०८१ पुसमा ४.९२ प्रतिशत रहेको यस्तो कर्जा २०८२ पुससम्म आइपुग्दा बढेर ५.४२ प्रतिशत पुगेको छ। वाणिज्य बैंकहरूको मात्र निष्क्रिय कर्जा ५.३ प्रतिशत पुगेको देखिन्छ।
ब्याजदरमा गिरावट
बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै निक्षेप र कर्जा दुवैको ब्याजदर घटेको छ। २०८२ फागुनसम्ममा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.९० प्रतिशतमा झरेको छ। यस्तै, बैंकहरूको औसत आधार दर (बेसरेट) ५.१० प्रतिशत कायम भएको छ।
डिजिटल भुक्तानीमा ठूलो फड्को
प्रविधिको प्रयोग र नागरिकको पहुँच बढेसँगै विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य सुधार आएको छ। २०८२ फागुनसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन्। विशेषगरी क्यूआरमा आधारित कारोबारमा ठूलो वृद्धि भई मासिक कारोबार १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
अन्य वित्तीय सूचकहरू
२०८२ फागुनसम्ममा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.०७ प्रतिशत रहेको छ, जुन नियामकीय सीमा (९० प्रतिशत) भन्दा निकै तल छ। यस्तै, प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः ९.६१ प्रतिशत र १२.६४ प्रतिशत कायम रहेको छ, जसले वित्तीय क्षेत्र सबल अवस्थामै रहेको संकेत गर्दछ। सर्वेक्षणले बैंकिङ क्षेत्रको आधार मजबुत रहेता पनि कर्जाको माग बढाउन र निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्नुपर्ने चुनौती रहेको औँल्याएको छ।