काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैदेशिक रोजगार व्यवसायी संघ सम्बन्धी देखिएको विवाद समाधान तथा संस्थागत व्यवस्थापनलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ। कार्यालयले संघभित्र देखिएको आन्तरिक मतभेदलाई संवाद कानुनी प्रक्रिया तथा संस्थागत विधिअनुसार समाधान गर्न आग्रह गर्दै संघका गतिविधि नियमित, पारदर्शी र मर्यादित ढगंले सञ्चालन गर्न निर्देशन दिएको हो।
प्रशासनले संघको विधान, प्रचलित कानून तथा स्थापित प्रक्रियाअनुसार विशेष साधारण सभा, निर्वाचन र अन्य गतिविधि सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ। साथै, संघमा आबद्ध सम्पूर्ण सदस्य तथा संस्थाहरूलाई समयमै सूचना प्रवाह, नवीकरण तथा समन्वयमा ध्यान दिन अनुरोध गरिएको छ। प्रशासनले संघका गतिविधिहरू शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थासमेत मिलाइने तथा संघको विधान र प्रचलित कानुन बमोजिम हुने कार्यहरू कुनै पनि पक्षले अवरोध सिर्जना नगर्ने तथा संघबाट सम्पादन हुने कार्यहरू नियमित रूपमा यस कार्यलाई समेत जानकारी गराउने कार्यालयले निर्देशन दिएको छ। त्यस्तै गत केही समय अघि संघका अध्यक्ष भुवन सिंह गुरुङको आर्थिक कारोबारको अनियमितता तथा मनोमानी ढगंले चल्दा समस्या उत्पन्न भएको तथा अध्यक्षको कार्यशैली र महासचिव महेशकुमार बस्नेतबीच विवादमा उत्कर्षमा पुगेपछि संघ भित्र समस्या झाँगिदै गएको थियो।
विवाद समाधान नभएपछि केही दिनअघि पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए। राजीनामा दिने पदाधिकारीमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली छन्। यस्तै, सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका थिए। यता अध्यक्ष गुरुङलाई संघमा किन विवाद झाँगिएको भनेर प्रश्न गर्दा संघभित्र अनावश्यक राजनीति र केही व्यक्तिको स्वार्थ समूहको प्रपञ्च रचेको संज्ञा दिए। आफ्नो कार्य क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागिएको विषयमा स्पष्टीकरण दिँदै उनले आफू विधिको शासन र आम व्यवसायीको हितविपरीत कुनै पनि क्रियाकलाप नगरेको गुरुङले क्यापिटल नेपालसँग दाबी गरेका थिए।