काठमाडौं। बैंकिङ कसुर अभियोग लागेका व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवालसहितका प्रतिवादीको बयान उच्च अदालत पाटनमा सुरु भएको छ। गत जेठ २८ गते उनीहरुविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो।
उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बयान चलिरहेको हो।
उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ।
उनीहरूविरुद्ध मिलोमतो गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको अभियोग लगाइएको छ। अभियोगपत्र दर्ता हुँदा फरार जनाइएका शंकरलाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले साउन ६ पक्राउ गरी उच्च अदालत पाटनमा हाजिर गराएको थियो। उनको पनि बयान जारी छ।
जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋणलाई भट्टको खातामा पठाई इन्फिनिटी होल्डिङ्सको खातामा सारिएको जिकिर गरिएको छ। जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट ‘वर्किङ क्यापिटल लोन’ चालू पुँजी कर्जा र छोटो अवधिको कर्जा लिएको थियो।
औद्योगिक कच्चापदार्थ खरिद र दैनिक कार्य सञ्चालनका निम्ति लिइएको कर्जा जगदम्बा स्टील्सले दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा स्थानान्तरण गरेको दाबी अभियोगपत्रमा छ। उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न र व्यक्तिगत लाभका निम्ति प्रयोग गरिएको गरिएकाले बैंकिङ कसुरमा सजाय माग गरिएको छ।
यी प्रतिवादीबाट ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ सात पैसा बिगो असुलउपर गर्न सरकारी वकिल कार्यालयको माग छ। अदालतमा बयान सकिएपछि थुनछेकसम्बन्धी बहस हुनेछ। थुनछेक बहसमा भट्ट र अग्रवालसहितका प्रतिवादी र सरकारी वकिलबाट इजलाससमक्ष सुनुवाइ गरिनेछ।