काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर वर्षा हुने पूर्वानुमान गरेको छ। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ। कोसी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ। त्यसैगरी आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोसी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा भारी वर्षा
शुक्रबार राती काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घन्टामै यहाँ ५७.६ मिलिमिटर वर्षा भएको छ। यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ। सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटरमाथि वर्षा भएको छ।
यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ।