काठमाडौं। भैरहवामा अवस्थित डन्डी उत्पादक ३० लाखको व्यापार गर्दा सवा ३ अर्ब रुपैयाँ बढीको ऋणको रेटिङ गराएको छ। कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालमा कुल ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो।
तर, इक्राले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै ‘डिफल्ट’ रेटिङ दिएको छ। उद्योग निर्माण र स्तरोन्नतिको क्रममा रहेकाले उत्पादन र बिक्री लगभग ठप्पजस्तै छ। व्यापार नै नभएपछि कम्पनीको खुद नाफा ऋणात्मक छ र ब्याज तिर्न सक्ने क्षमता शून्यजस्तै छ। कम्पनीले गत आर्थिक वर्षमा कुल ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको एक वर्षमै ८९.२८ प्रतिशतले व्यापारमा गिरावट आएको हो। अघिल्लो आव २०२४ मा कम्पनीले २ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। साथै, कम्पनीले आव २०२३ मा १३ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको थियो। कम्पनीको व्यापार रहेका वर्ष घट्दो छ। २ वर्षको अन्तरालमा कम्पनीको व्यापार ९७.७६ प्रतिशतले घटेको छ।
कम्पनीले २ अर्ब २७ करोड रुपैयाँको लागतमा भैरहवाको पड्सरीमा नयाँ बिलेट उत्पादन गर्ने ‘इलेक्ट्रिक आर्क’ प्लान्ट स्थापना र साविकको रोलिङ प्लान्टको स्तरोन्नति गरिरहेको छ।
निरन्तर व्यापार घटिरहेको यो कम्पनीले ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको बैंकिङ ऋण सुविधाका लागि रेटिङ गराएको हो। तर, बैंकको ब्याज र किस्ता तिर्न नसकेपछि क्रेडिट रेटिङ एजेन्सीले यसलाई ‘टाट पल्टिएको’ (डिफल्ट) श्रेणीमा राखेको छ। इक्राले कम्पनीले गराएको कुल ऋण रेटिङमा १ अर्ब ३६ करोड रुपैयाँको दीर्घकालीन कर्जामा ‘एलडी’ र २ अर्ब ३ करोड ६० लाख रुपैयाँको अल्पकालिन कर्जामा ‘डी’ रेटिङ दिएको छ।
इक्राको परिभाषाअनुसार ‘डि’ रेटिङ पाउनुको अर्थ कम्पनीले बैंकको ऋण समयमै भुक्तानी गर्न असफल भएको छ। प्रतिवेदनअनुसार कम्पनीले सन् २०२६ अप्रिलको मध्यसम्ममा तिर्नुपर्ने त्रैमासिक किस्ता र ब्याज ३० दिनभन्दा बढी समय बितिसक्दा पनि भुक्तानी नगरेकाले यसलाई जोखिमपूर्ण ‘डिफल्ट’ सूचीमा राखिएको हो।
कम्पनीले २ अर्ब २७ करोड रुपैयाँको लागतमा भैरहवाको पड्सरीमा नयाँ बिलेट उत्पादन गर्ने ‘इलेक्ट्रिक आर्क’ प्लान्ट स्थापना र साविकको रोलिङ प्लान्टको स्तरोन्नति गरिरहेको छ।
यो परियोजनाका लागि कम्पनीले ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी परिचालन गर्ने योजना बनाएको छ। तर, २०२६ मार्चसम्मको तथ्यांकअनुसार परियोजनाको ६४ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। अझै पनि आवश्यक पुँजीको ५१ प्रतिशत र ऋणको १८ प्रतिशत हिस्सा जुट्न बाँकी छ, जसले परियोजना नै अलपत्र पर्ने जोखिम देखाउँछ।
विनायक इस्पात नेपालको प्रख्यात हामा ग्रुपसँग आबद्ध व्यक्तिद्वारा प्रवर्द्धित कम्पनी हो। सन् १९८९ देखि सञ्चालित ‘हामा फलामे छड’ का प्रवद्र्धकहरूको यसमा लगानी छ। कम्पनीमा अध्यक्ष बालकृष्ण श्रेष्ठको करिब २३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर परिवारका सदस्यको छ। हामा ग्रुपको बलियो औद्योगिक पृष्ठभूमि भए तापनि विनायक इस्पातको व्यवस्थापनमा भने ठूलो कमजोरी देखिएको छ।
बैंकहरूका लागि यो कम्पनीमा लगानी गर्नु अहिले उच्च जोखिमपूर्ण रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। कम्पनीले ३० दिनभन्दा बढी समयदेखि ऋणको किस्ता तिर्न सकेको छैन। कम्पनीमा ४० करोड ९० लाख रुपैयाँ संचित नोक्सानी छ। स्टिल बजारमा देखिएको मन्दी र प्रतिस्पर्धाका कारण नयाँ प्लान्ट सञ्चालनमा आएपछि पनि बजार पाउनेमा संशय छ।
यसका साथै, कम्पनीको चालु पुँजीको सघनता ८१५ प्रतिशत पुग्नु र चालु अनुपातमात्र ०.८ रहनुले कम्पनीसँग दैनिक खर्च चलाउनसमेत पैसा नभएको पुष्टि गर्छ। कच्चा पदार्थको मूल्यमा हुने अन्तर्राष्ट्रिय उतारचढाव र डलरको भाउले गर्दा कम्पनीको भविष्य अझै अन्योलग्रस्त देखिन्छ। बैंकको सवा ३ अर्ब लगानी जोगाउन प्रवद्र्धकहरूले तत्काल थप पुँजी हाल्नुपर्ने र उत्पादन सुरु गर्नुपर्ने चुनौती रेटिङ प्रतिवेदनले औंल्याएको छ।