महेन्द्रनगर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गरेका छन्।
मन्त्री पौडेलले आज स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे सम्बन्धित जानकारी लिएका थिए।
अवलोकनका क्रममा उनले राज्यको लगानी खेर जान नहुने बताउँदै विमानस्थलको पुनर्निमार्णमा देखिएका समस्या समाधान गरिने बताए। त्यसैगरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरे।
विसं २०५८ मा सुरक्षाको कारण देखाउँदै बन्द भएको विमानस्थल त्यसयता सञ्चालनमा आउन सकेको छैन। पुनर्निर्माणका लागि तीन वर्षमा सम्पन्न गर्ने गरी २०७८ सालमा ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भए पनि विमानस्थलको निर्माण कार्य हाल ७५ प्रतिशत सकिएको छ।
पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समयावधि बढाइएको छ। एक हजार ५२५ मिटर रन्वे कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर रन्वे निमार्ण भएको छ।
लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएको विमानस्थलको रन्वेका लागि गत वर्ष नेपाली सेनाले जग्गा दिएपछि निर्माणले गति पाएको हो।
विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा सङ्घीय सरकार, प्रदेश र स्थानीयमा भीमदत्त तथा दोधारा चाँदनी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको बताइएको छ।