काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ।
केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार एक सूचना जारी गर्दै नीतिलाई व्यावहारिक र प्रभावकारी बनाउन विज्ञ, संघ संस्था र आम सर्वसाधारणसँग सुझाव मागेको हो।
राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम बैंकले हरेक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअघि सार्वजनिक रूपमा सुझाव संकलन गर्दछ। प्राप्त भएका रचनात्मक सुझावहरूलाई नीति तर्जुमाका क्रममा आवश्यकताअनुसार समावेश गरिने बैंकले जनाएको छ।
राष्ट्र बैंकको मौद्रिक नीति तर्जुमाले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र सो वर्षको मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आवश्यक प्रकृया सुरु गरेको हो।
आगामी मौद्रिक नीतिको मस्र्योदा तयार गर्न विभागले इच्छुक व्यक्ति, संघ संस्था वा सरोकारवालाले आगामी २०८३ असार ५ गतेभित्र बालुवाटारस्थित राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा वा इमेलमार्फत आफ्ना सुझावहरू पठाउन आग्रह गरेको छ।
बजारको तरलता व्यवस्थापन, ब्याजदर निर्धारण, कर्जाको सीमा र समग्र आर्थिक स्थायित्वका लागि मौद्रिक नीतिलाई महत्त्वपूर्ण दस्तावेज मानिन्छ। विशेषगरी बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र निजी क्षेत्रको मनोबल उकास्ने गरी नीति ल्याउनुपर्ने दबाबमा रहेको राष्ट्र बैंकले समयमै सुझाव दिन सबैमा अनुरोध गरेको छ। साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको आन्तरिक तयारी छ।