काठमाडौं। नेपाल बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को १० महिनमा बिमा कम्पनीले ५८ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। यो दाबी भुक्तानी जीवन र निर्जीवन बिमा कम्पनीले गरेका हुन्।
गत वर्षको असोज बाढी र जेनजी आन्दोलनले बिमा कम्पनीको दाबी भुक्तानी बढेको हो।
तथ्यांकअनुसार चैतसम्म बिमा कम्पनीबाट ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ बढी बिमा दाबी भुक्तानी भएको हो। बिमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१५ प्रतिशतले घटेको छ।
बिमा कम्पनीले अघिल्लो वर्षको वैशाखसम्म ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका प्राधिकरणको तथ्यांक छ।
जीवन बिमा कम्पनीबाट १ लाख ५९ हजार ३०२ वटा दाबीको ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म जीवन बिमा कम्पनीले २ लाख १८ हजार ९५१ वटा दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख भुक्तानी गरेका थिए।
समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीले १ लाख २५ हजार ७८२ वटा दाबीको २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको सोही अवधिसम्म १ लाख १३ हजार ९३७३ वटा दाबीको १८ अर्ब ५७ करोड ८५ लाख गरेका थिए।
बिमा कम्पनीले अझै ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको छ। बिमा कम्पनीले अझै १ लाख ७८ हजार ६० दाबी भुक्तानी गर्ने बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको हो। जीवन बिमा कम्पनीले ६१ हजार ६४९ वटा दाबीको ५ अर्ब ५२ करोड ४१ जार रुपैयाँ भुक्तानी गर्ने बाँकी छ।
गत आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ४८१ दाबी संख्याको ४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी थियो । निर्जीवन बिमा कम्पनीबाट १ लाख १६ हजार ४४१ दाबी संख्या बापतको ४५ अर्ब ६१ करोड ९८ लाख भुक्तानी बाँकी रहेको प्राधिकरणले जनाएको छ।