प्रणयबहादुर पाण्डेको बाल्यकाल होटलको लबी, बगैँचा र अतिथिको चहलपहलबीच बित्यो। त्यसैले उनका लागि पर्यटन व्यवसाय कुनै रोजाइको क्षेत्र होइन, जीवनसँगै स्वाभाविक रूपमा हुर्किएको पहिचान हो। उनको हुर्काइ र होटल यात्रा अझ अगाडि छ।
सन् १९७९ देखि स्वर्गीय श्यामबहादुर पाण्डेले लाजिम्पाटबाट सुरु गरेको सांग्रिला होटल केवल एउटा व्यावसायिक परियोजना थिएन, त्यो नेपाली आतिथ्य उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना थियो। पछि बुबा प्रसिद्धबहादुर पाण्डे र काका प्रविणबहादुर पाण्डेले त्यही सपनालाई विस्तार गर्दै सांग्रिला हस्पिटालिटी ग्रुपलाई नेपालको प्रतिष्ठित होटल ब्रान्डमध्ये एक बनाउन सफल भए। अहिले त्यही विरासतको नेतृत्व तेस्रो पुस्ताका रूपमा प्रणयले सम्हालिरहेका छन्।
सांग्रिला परिसरमा खेल्दै हुर्किएका उनी आज ग्रुपका कार्यकारी निर्देशकको भूमिकामा छन्। जहाँ जिम्मेवारी केवल पारिवारिक व्यवसाय जोगाउने मात्र छैन, त्यसलाई नयाँ युगसँग जोड्ने पनि छ।

हाल सांग्रिला ग्रुपले एकैसाथ चार वटा लक्जरी होटल परियोजना अघि बढाइरहेको छ। जसको कुल लगानी करिब २५ अर्ब रुपैयाँ बराबर छ। नयाँ व्यवस्थापन, अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डसँगको साझेदारी सञ्चालनमा आउन लागेका यी परियोजनाको नेतृत्व प्रणय स्वयंले गरिरहेका छन्। यसले उनलाई केवल उत्तराधिकारी होइन, नेपाली होटल उद्योगको नयाँ पुस्ताका निर्णायक नेतृत्वकर्ताका रूपमा स्थापित गरिरहेको छ।
ए लेभलको अध्ययन काठमाडौंमै सकाएर स्नातक तह अध्ययनका लागि अमेरिकामा गएका प्रणय २०१९ तिर नेपाल फर्किए।
अर्थात्, अब तीनै स्व.हजुरबुबाले ४० वर्षअघि सुरु गरेर स्थापित गर्दै बाबा र काकाले स्थापित गराउन सफल भएको सांग्रिला हस्पिटालिटी ग्रुपको मुख्य कार्यभारे सम्हालिरहेका छन्। पारिवारिक विरासत बोक्दै विश्व पर्यटन क्षेत्रमा एकछत्र राज गरेको सांग्रिला होटलको मुख्य ड्राइभिङ सिटको कार्यभार अहिले प्रविणले सम्हाल्दै आएका छन्।
...
ए लेभलको अध्ययन काठमाडौंमै सकाएर स्नातक तह अध्ययनका लागि अमेरिकामा गएका प्रणय २०१९ तिर नेपाल फर्किए। अर्थशास्त्रमा स्नातक अध्ययन सकाएर नेपाल फर्किएका प्रणयका लागि ठूलो अवसर र चुनौती एकसाथ आइपर्यो। हुन त, उनलाई होटल क्षेत्रमै काम गर्नुपर्छ भन्ने बाध्यता थिएन। सोही कारण उनले उच्च शिक्षा अध्ययनका बेला पनि हस्पिटालिटी क्षेत्रलाई छाडेर अर्थशास्त्र विषय रोजेका थिए। तर, पारिवारिक विरासत बोकेको आफ्नो होटल क्षेत्रलाई पनि कुनै दिन अँगाल्नुपर्छ भन्ने सोच उनले लिइरहेका थिए। तत्कालै यो अवस्था आउला भन्ने सोचेका थिएनन्।

भनिन्छ, कहिलेकाहीँ परिस्थिति यस्तो आउँछ, जुन बेला गरेको निर्णय जीवन्त रहन्छ। त्यस्तै परिस्थिति प्रणयमा आयो र उनले निर्माणाधीन होटलको ‘लिड’ गर्ने जिम्मेवारी सम्हाले। एनका लागि बुझ्न मात्रै होटल क्षेत्र नयाँ थिएन। तर, काम गर्न नयाँ थियो।
त्यसबेला कास्कीको बेगनासमा पाँचतारे होटलका लागि सुरुआती चरणको काम सुरु भएको थियो। डिजाइनका काम चलिरहँदा पाइपलाइनमा चितवनको होटल पनि थियो। उनले सहजताभित्र विविधता र आफ्नो ज्ञानलाई भरपुर प्रयोग गर्न बेगनास र चितवनको होटललाई लिए। ती दुवै होटलको डिजाइनको सुरुआतदेखि नै उनले लिड गरिरहेका छन्।
कोरानाअघि अर्थात् २०१९ तिरबाट बेगनास र चितवनको प्रोजेक्ट सुरु भएको हो। मुलुकभित्र कोभिडका कारण पूर्ण लकडाउन भइरहेको बेला पाण्डे भने दुई वटा प्रोजेक्टलाई कसरी अगाडि बढाउने र कस्तो बनाउने भन्ने मुख्य ध्यान केन्द्रित गर्दैमा ठिक्क थियो। होटलको डिजाइन र बनाउने काम कन्सल्ट्यान्सले जिम्मा लिएका थिए। तर, परिवारभित्रबाट लिड गर्ने जिम्मेवारी प्रणयको भएकाले जति गम्भीरता कन्सल्ट्यान्सले लिएका थिए, त्यसभन्दा बढ्ता प्रणयमा थियो।
‘मेरा लागि चुनौतीपूर्ण घडी होटलको काम राम्रोसँग सम्पन्न गर्ने र अरूभन्दा पृथक बनाउने थियो,’ लाजिम्पाटको कर्पोरेट अफिस भेटको कुराकानीमा आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘पारिवारिक विरासतलाई धान्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्ने खाले बनाउनुपर्ने चुनौती थियो, अहिले सम्भव हुँदै छ।’
...
सांग्रिला ग्रुपले आफ्ना होटलमा अझै राम्रा र गुणस्तरीय कोठा बनाउन धेरै पहिलादेखि प्रयास गरिरहेको थियो। तर, त्यो उपयुक्त अवसर पाइरहेको थिएन। जब कोभिड–१९ ले विश्वलाई लकडाउनमा पार्यो, त्यही बेला अब यसलाई नयाँ बनाउने अवसर हो भन्ने सोचका साथ काम अगाडि बढाए।

त्यतिबेलै चार वटा प्रोजेक्ट सञ्चालनमा थिए। आफ्नै ब्रान्डमा लामो समयसम्म सञ्चालनमा रहँदा अब केही नयाँ ब्रान्डलाई ल्याएर काम गरौं भन्ने विषयमा परिवारभित्र लामो समयदेखि छलफल चलिरहेको थियो। विदेशी ब्रान्डसँग सम्झौता गर्नुअघि पनि निर्माणाधीन होटलका कोठा र संरचना अन्तर्राष्ट्रिय स्तरकै बनाउन सुरु गरिएको थियो। रिसेप्सनदेखि कोठाको डिजाइन गर्दा सञ्चालनमा रहेका होटलभन्दा भिन्न खाले थियो। सोही कारण अहिले ब्रान्डलाई सांग्रिलासँग सम्झौता र सहकार्यका लागि सहज भएको थियो।
यी चार वटै होटलको व्यवस्थापन आईएचजीले गर्नेछ। यी सबै होटलमा गरी पाँच सय कोठा हुनेछन्।
अहिले सांग्रिलाले बेलायती बहुराष्ट्रिय होटल व्यवस्थापन ब्रान्ड इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)सँग सम्झौता गरेर काम अगाडि बढाएको छ। सम्झौताअनुसार काठमाडौंको सांग्रिला इन्टरकन्टिनेन्टल काठमाडौंका नामबाट सञ्चालन हुनेछ। पोखरामा इन्डिगो, बेगनासमा इन्टरकन्टिनेन्टल रिसोर्ट र चितवनमा इन्टरनकन्टिनेन्टल रिसोर्टका नाममा सञ्चालन हुनेछ।
यी चार वटै होटलको व्यवस्थापन आईएचजीले गर्नेछ। यी सबै होटलमा गरी पाँच सय कोठा हुनेछन्। ‘आईएचजी आउनुअघि नै बेगनास र चितवनका लागि थाइल्यान्डका कन्सल्टेन्टसँग ल्यान्डस्केप, आर्किटेक्चर, इन्टेरियर र स्पा डिजाइन बनाउन इन्गेज गरिसकेका थियौं। उनीहरूको इन्साइट र नलेज आवश्यक थियो, तर हाम्रो इनपुट पनि सुरुदेखि नै थियो’, उनले भने।
आईजीसँग सम्झौता गरेपछि उसले भनेको मापदण्डअनुसारकै काम भयो। चार वटा प्रोजेक्टमध्ये बेगनासको होटल उद्घाटन अक्टोबर १५ मा हुँदैछ। आईएचजीसँगको साझेदारीपछि डिजाइन, बिल्डिङ स्ट्यान्डर्ड र अपरेसन सबै पक्ष अझ बलियो भयो। अहिले ती चार प्रोजेक्टमध्ये पहिलो प्रोजेक्टको ओपनिङ नजिकिएको छ। अब मार्केटिङलाई पनि तीव्र बनाउने उनको सपना छ।
जिम्मेवारीसँगै सिकाइ
प्रणयका लागि व्यावसायिक यात्राको पाठशाला बेगनास र चितवन बन्यो भन्दा फरक पर्दैन। पारिवारिक बिजनेस भएकाले होटलमा आवतजावत गर्ने, हजुरबुबा, बुबा र काकासँग बेलाबेला मिटिङ र सेमिनारमा गएर सहभागी हुनेबाहेक उनले नयाँ जिम्मेवारी नसम्हालेका कारण होटल निर्माणको लिड गर्न केही असहज भएको थियो। तर, जब बेगनास र चितवनमा रहेको होटलको कामको लिड गर्न थाले, त्यही उनका लागि सिकाइको उपयुक्त पाठशाला बन्यो। डिजाइनदेखि होटल उद्घाटनसम्म आइपुग्दा प्रणय अहिले दंग मात्र हैन, जिम्मेवारीमा पनि उत्तिकै दृढ छन्।
‘मेरा लागि चुनौतीपूर्ण यात्रामा सिक्दै, काम गर्दै उद्घाटनको चरणमा आउँदा निकै खुसी महसुस गरिरहेको छु,’ प्रणयले भने, ‘जसरी सांग्रिला बनाउँदा स्व.हजुरबुबाले जुन सपना देख्नुभएको थियो, त्यो सपना मात्र हैन, विपनामा बदल्न कति कठिन रहेछ भन्ने ज्ञान पनि पाएँ।’
‘हाम्रो व्यवसाय हजुरबुबाकै पालादेखिको भएकाले यो एउटा लिगेसी बिजनेस हो। बाहिरबाट हेर्दा सजिलो देखिए पनि भित्र पसिसकेपछि जिम्मेवारीको गहिराइ बुझिने रहेछ,’ उनले भने, ‘यो अवसर लिगेसीकै कारण पाएको हो। मेरो योग्यता मात्रले यस्तो अवसर तुरुन्त पाउने थिइनँ होला। तर, चुनौती के भने जिम्मेवारी कार्यालय समयसँगै सकिँदैन।’
पोखरामै बसेर फिल्डमा काम गर्दा धेरै कुरा आफैं अनुभव गर्न पाएको उनले सुनाए। ‘पहिले बाबाहरूले व्यवसायका समस्याबारे कुरा गर्दा सुनेको मात्र थिएँ। अहिले आफैंले भोगेंँ केही कुरामा उनीहरूका अनुभवले मानसिक रूपमा तयार बनाएको थियो, तर धेरै कुरा आफैं फिल्डमा गएपछि मात्र बुझिने रहेछ,’ प्रणयले भने, ‘हाम्रो केसमा भने स्थानीय तहदेखि नै राम्रो सहयोग थियो। त्यो हजुरबुबादेखिको सम्बन्धका कारण पनि हुन सक्छ।’
ब्रान्डका आफ्नै कडा मापदण्ड हुन्छन्, विशेषगरी लाइफ सेफ्टी र फायर सेफ्टीमा कुनै सम्झौता हुँदैन।
काम गर्दै जाँदा उनको एउटा तीतो अनुभव पनि छ। त्यसबाट उनले सिकेको एउटा पाठ हो- योजनाअनुसार सबै कुरा कहिल्यै नहुने रहेछ। सुरुमा बजेट र टाइमलाइन बनाएर सबै हिसाब गरिए पनि व्यवहारमा धेरै अनपेक्षित फ्याक्टर आउँछन्।

प्रोजेक्टको स्केल बढ्दै जाँदा चुनौती पनि बढ्यो। संसारकै शीर्ष ब्रान्डमध्ये एकको स्तरको प्रोपर्टी काठमाडौंभन्दा बाहिर बेग्नास, मेघौली र घारीपाटनजस्ता ठाउँमा निर्माण गर्नु सजिलो थिएन। ब्रान्डका आफ्नै कडा मापदण्ड हुन्छन्, विशेषगरी लाइफ सेफ्टी र फायर सेफ्टीमा कुनै सम्झौता हुँदैन।
त्यसलाई नेपालकै सन्दर्भमा सस्टेनेबल र भाइएबल बनाउनु चुनौतीपूर्ण थियो। आईएचजी टिम, विदेशी कन्सल्टेन्ट र प्रोजेक्ट म्यानेजमेन्टका मानिस पनि निरन्तर आइरहन्थे। यस्तो ट्रान्जिसन नेपालमा पहिले धेरै नभएकाले सुरुमा चुनौतीपूर्ण नै थियो, जुन उनले पार गर्न सफल भए।
...
पर्यटन प्रणय नजरको अथाहा सम्भावना भएको क्षेत्र हो। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्पराले नेपाललाई विश्व पर्यटन बजारमा विशिष्ट बनाएको छ। तर, यी सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न आधारभूत पूर्वाधार र प्रभावकारी कनेक्टिभिटी अत्यन्त महत्वपूर्ण छन।
पछिल्ला वर्षमा सरकारले सडक, विमानस्थल र यातायात सञ्जाल विस्तारमा लगानी बढाएको छ। जसको सकारात्मक प्रभाव देखिन थालेको छ। सडक सञ्जाल सुधारिएसँगै भारतबाट आउने ‘रोड ट्राभल’ बढेको छ भने आन्तरिक पर्यटनको गतिशीलता पनि विस्तार भएको छ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन्, तर तिनको प्रभावकारी सञ्चालन र दीर्घकालीन उपयोगमा अझै धेरै काम गर्न बाँकी छ।

पर्यटन क्षेत्रको अर्को चुनौती नीतिगत तथा संस्थागत सुधारसँग जोडिएको छ। विशेषगरी होटल तथा पर्यटन उद्योगको वर्गीकरण अझै कमजोर देखिन्छ। पर्यटकले जुन स्तरको सेवा अपेक्षा गर्छन्, त्यो सबै ठाउँमा समान रूपमा उपलब्ध छैन। अहिले पाँचतारे वा चारतारे नाम दिइएका धेरै होटल तथा प्रोपर्टीको गुणस्तरमा ठूलो अन्तर देखिन्छ। त्यसैले न्यूनतम मापदण्डलाई कडाइका साथ लागू गर्न आवश्यक छ। विश्वसनीय र गुणस्तरीय अनुभव दिन सकिए मात्र नेपालले दीर्घकालीन रूपमा उच्चस्तरीय पर्यटक आकर्षित गर्न सक्छ।
दिगो पर्यटन अहिलेको सबैभन्दा महत्वपूर्ण बहस बनेको छ। हिमाली र ट्रेकिङ क्षेत्रमा प्रदूषण बढ्दै गएको छ भने संवेदनशील पर्यावरणीय क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ। त्यसैले अब पर्यटन विस्तारको मोडल केवल संख्यामा आधारित नभई गुणस्तर र दिगोपनामा केन्द्रित हुनुपर्ने आवश्यकता छ।
स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुन सके मात्र पर्यटनको वास्तविक अर्थ स्थापित हुन्छ।
महँगा पर्यटक अर्थात् लक्जरी पर्यटनमा ध्यान दिँदा पर्यावरणीय असर कम गर्न सकिन्छ र सचेत पर्यटक आकर्षित गर्न पनि सहज हुन्छ। मास टुरिजमले अल्पकालीन आर्थिक गतिविधि बढाए पनि दीर्घकालीन रूपमा त्यसले पर्यावरण र स्थानीय संरचनामाथि ठूलो दबाब सिर्जना गर्न सक्ने उनको बुझाइ छ।

काठमाडौं, पोखरा, चितवन र एभरेस्टजस्ता गन्तव्य विश्वभर परिचित छन्। तर, यी गन्तव्यलाई मात्र पर्यटनको केन्द्र बनाएर अघि बढ्दा देशको विशाल सम्भावना सीमित हुन्छ। नेपाल भौगोलिक, सांस्कृतिक र भाषिक रूपमा विविधयुक्त मुलुक हो। एउटा उपत्यकाबाट अर्को क्षेत्रमा पुग्दा भाषा, खानपान, संस्कृति र जीवनशैली नै बदलिन्छ। यही विविधता नेपालको सबभन्दा ठूलो पर्यटन सम्पत्ति हो। त्यसैले नयाँ गन्तव्यको खोज, विकास र प्रवद्र्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ।
पर्यटन केवल होटल र ट्राभल व्यवसायमा सीमित क्षेत्र होइन। यसले कृषि, स्थानीय उत्पादन, हस्तकला र साना उद्योगलाई पुनर्जीवित गर्ने क्षमता राख्छ। कुनै क्षेत्रमा पर्यटन विस्तार भएपछि स्थानीय उत्पादनको माग बढ्छ, संस्कृति पुनः सक्रिय हुन्छ र रोजगारी सिर्जना हुन्छ। स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुन सके मात्र पर्यटनको वास्तविक अर्थ स्थापित हुन्छ।
