काठमाडौं। राइड सेयरीङका लागि विश्व बजारमा तहल्का मच्चाएको उभर औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ। लामो प्रयासपछि ट्याक्सीमाण्डुसँगको सहकार्यमा उभर नेपालमा प्रवेश गरेको हो।
अमेरिकीन कम्पनी उभरले विश्वभर उत्कृष्ठ राइडसेयरीङ सेवा दिँदै आएको छ। एक साता अघि मात्र काठमाडौंमा भव्य कार्यक्रमका बीच उभरले औपचारिक रूपमा प्रवेश गरेपछि त्यसको प्रभाव अन्य राइड सेयरीङ कम्पनीलाई परेको छ। योसँगै नेपालमा राइड सेयरीङमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको पठाओ र याङ्गोबीच मर्जरमा गएर एउटै कम्पनीको नाममा सञ्चालन गर्नेगरी आन्तरिक तयारी थालिएको छ।
२०७५ सालबाट नेपालमा सेवा सुचारु गरेको पठाओ बाइक र कारको राइड सेयरीङसँगै पछिल्लो समय फुड डेलिभरी र पार्सल सेवामा लोकप्रिय रहेको छ। उसले अहिले काठमाडौंसहित उपत्यका बाहिरका ठूला सहरमा सेवा दिँदै आएको छ।
यस्तै २०२५ बाट नेपालमा आफ्नो यात्रा सुरु गरेको याङ्गो पछिल्लो समय उपभोक्ता र चालकबीच लोकप्रिय बनेको छ। यात्रुलाई सस्तोमा सेवा दिने र चालकलाई उल्टै बोनश दिने भएकोले पनि छोटो समयमा लोकप्रियता हासिल गरेको हो।
तर, अहिले उभरको प्रवेशपछि राइड सेयरीङ कम्पनीबीच तिब्र प्रतिस्पर्धा हुने देखिएपछि पठाओ र याङ्गोले नेपालमा मर्जर गरेर एग्रेसिभ रूपमा काम गर्ने रणनीति बनाउन थालेका छन्।
स्रोतका अनुसार अहिले नेपालमा रहेका दुबै कम्पनीले आफ्नो दायित्वसहितको सम्पत्ति मूल्यांकन (डिडिए) गरिरहेको छ। पठाओ अमेरिकन कम्पनी हो। नेपालमा भने बंगलादेशबाट हेरिँदै आएको छ। याङ्गो रुसी प्रविधि कम्पनी यान्डेक्सको सहायक ब्रान्ड हो। यसको मुख्यालय युएईमा छ।
विश्वस्त श्रोतका अनुसार कुरा मिलेमा नेपालमा याङ्गोलाई पठाओले खरिद गर्ने तयारी समेत भएको छ। ‘सुरुमा एक अर्को कम्पनीको सम्पत्ति मुल्यांकनपछि खरिद विक्रिकै कुरा हुन्छ,’स्रोतले भन्यो, ‘बिक्रीको कुरा नमिले मर्जरमा गएर एउटै कम्पनीबाट सेवा दिँदै जाने छ।’
अहिले फुड डेलिभरी र पार्सलका लागि पठाओ र यात्रुका लागि याङ्गो लोकप्रिय रहेकोले एउटै कम्पनी बनाएर सबै सेवाहरू एकीकृत गर्ने र नेपालमा सबैभन्दा ठूलो राइड सेयरीङ कम्पनीको रूपमा प्रभुत्व जमाएर राख्ने रणनीति पठाओ र याङ्गोको रहेको छ।
केही समय अघिबाट पठाओमा लामो समय काम गरेका महाप्रबन्धक आशिममान बस्न्यातसहितको माथिल्लो तहका ३ जना कर्मचारीहरू राजीनामा दिएर बाहिरिएका छन्। अहिले पठाओको महाप्रबन्धकको रूपमा यशु थकाली नियुक्त भएका छन्। यता याङ्गोको नेतृत्व सन्तोष पाण्डेले गरिरहेका छन्। सुरुमा याङ्गो नेपालमा आउँदा ट्याक्सीमाण्डुसँग सहकार्य गरेपनि अहिले त्यहाँबाट बाहिरिएको छ। अहिले ट्याक्सीमाण्डुसँगको सहकार्यमा उभरले सेवा सुचारु गरिरहेको छ।