काठमाडौं। कुनै समय उद्योग, व्यापार र यातायातको केन्द्रका रूपमा परिचित इटहरी अब पर्यटन, सम्मेलन र गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ)को नयाँ केन्द्र बन्ने तयारीमा छ। पूर्वी नेपालको आर्थिक राजधानी मानिने इटहरीमा करिब २ अर्ब रुपैयाँ लगानीमा कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने भएको हो।
चार हजार जना एकैपटक अटाउन सक्ने क्षमतासहित निर्माण हुन लागेको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टरले पूर्वी नेपालको आतिथ्यता उद्योगमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। परियोजनाको वित्तीय व्यवस्थापनसम्पन्न भएसँगै निर्माण प्रक्रियाले औपचारिक गति लिएको छ। परियोजनाको वित्तीय समापन एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा गरिएको हो।

यो महत्वाकांक्षी परियोजनाको नेतृत्व एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले गरिरहेका छन्। पाँचतारे मर्क्युर काठमाडौं र रमाडा बाई विन्धम इटहरी सञ्चालनमा ल्याइसकेका बस्नेतका लागि यो तेस्रो अन्तर्राष्ट्रियस्तरको आतिथ्यता परियोजना हुनेछ। तर यो परियोजना केवल अर्को होटल निर्माणको कथा होइन, पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र विवाह पर्यटनको नक्सामा स्थापित गर्ने महत्वाकांक्षी अभियान पनि हो।
इटहरीको भाटभटेनी क्षेत्रनजिक निर्माण हुने यो केन्द्रले नेपाल मात्र होइन, भारतका सीमावर्ती राज्यबाट हुने विवाह, व्यापारिक सम्मेलन तथा प्रदर्शनीलाई समेत लक्षित गरेको छ। अहिलेसम्म यस्ता ठूला कार्यक्रमका लागि काठमाडौं वा भारतका विभिन्न सहर रोज्नुपर्ने अवस्था थियो। नयाँ केन्द्र सञ्चालनमा आएपछि पूर्वी नेपालमै अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध हुने विश्वास गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए।
पूर्वाधार विकास, सहज सडक सञ्जाल र बढ्दो आर्थिक गतिविधिका कारण विराटनगर–इटहरी–धरान करिडोर पछिल्ला वर्षहरूमा तीव्र गतिमा विकसित भइरहेको छ। यही सम्भावनालाई आधार मानेर परियोजना अघि बढाइएको हो। भारत, भुटान र बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यावसायिक आवागमनले पूर्वी नेपाललाई दक्षिण एशियाको उदीयमान पर्यटन केन्द्र बनाउने सम्भावना देखिएकाले थप लगानी विस्तार गरिएको अध्यक्ष बस्नेतको भनाइ छ।
यस परियोजनाको अर्को विशेषता यसको भौगोलिक अवस्थिति हो। इटहरीबाट कोशीटप्पु वन्यजन्तु आरक्ष, भेडेटार, टिएमजे, इलामका चिया बगान, धरान तथा पूर्वी पहाडी क्षेत्रका अनेकौं पर्यटकीय गन्तव्यमा सहज रूपमा पुग्न सकिन्छ। विवाह, सम्मेलन वा अन्य कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले कार्यक्रमसँगै पूर्वका गन्तव्यहरूको भ्रमण पनि गर्न सक्नेछन्। रिसोर्टभित्र आधुनिक आतिथ्यता सेवासहित मनोरञ्जन, आवास र विश्रामका विविध सुविधा उपलब्ध हुने बताइएको छ।

बस्नेतका अनुसार यो परियोजना केवल होटल व्यवसायमा गरिएको लगानी मात्र होइन, पूर्वी नेपालको आर्थिक रूपान्तरणसँग जोडिएको अभियान हो। उनले बैंकिङ साझेदार, लगानीकर्ता, परामर्शदाता तथा सरकारी निकायप्रति आभार व्यक्त गर्दै परियोजनाले रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी विस्तार र पर्यटन उद्योगको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्की पनि इटहरीकै हुन्। उनी पूर्वप्रधानपञ्च प्रेमबहादुर कार्कीका छोरा हुन्। कार्की र बस्नेत दुवैको साझा सपना आफ्नो जन्मभूमिलाई नयाँ उचाइमा पुर्याउने रहेको देखिन्छ।
‘यो पूर्वको आवश्यकता थियो। हाम्रो गृहनगर भएकाले पनि इटहरी नै रोजाइमा पर्यो,’ कार्की भन्छन्, ‘देशबन्धु दाइको नेतृत्वमा इटहरीले अर्को ठूलो उपलब्धि पाएको छ। आगामी दिनमा पनि इटहरीका लागि थुप्रै योजना छन्।’