काठमाडौं। क्यानडाले समूह ’बी’ को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो।
कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो। क्यानडाले कतारलाई ६–० मा स्तब्ध बनाएको हो। सन् १९८६ मा पहिलोपटक क्यानडा विश्वकपमा सहभागी भएको थियो।
त्यसपछि २००२ मा विश्वकपमा सहभागि भयो। यी दुवै संस्करणमा क्यानडाले समूह चरणका खेलमा जित निकाल्न सकेको थिएन। क्यानडाले बनाएको ६–० स्कोर हालसम्मकै उच्च हो।
क्यानडाका लागि पहिलो हाफको १६औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे। पहिलो हाफको ३९औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि फेरि दोस्रो गोल गरे। पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–० को अग्रता लियो।
पहिलो हाफको ३३ औँ मिनेटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार १० जनामा सीमित भयो। खेलको ५५औँ मिनेटमा कतारका अर्का खेलाडी असिम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाए। त्यसपछि कतार ९ जनामा सीमित रह्यो।
६३औं मिनेटमा लियाम मिलरले क्यानडाका लागि गोल गरे। खेलको ७४औँ मिनेटमा कतारले आत्मघाती गोल गर्दा स्कोर ५–० बन्यो। क्यानडाका ताजन बुकानमको प्रहारलाई रोक्न खोज्दा कतारका मोहम्मद मुनाइको खुट्टामा छोएको बलले जाली चुम्न पुग्यो।
खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाए। त्यसपछि क्यानडा ६–० ले विजयी भएको हो। जितसँगै क्यानडाले अंक तालिकामा चार अंक जोडेको छ। यसअघि समूह चरणको पहिलो खेलमा बोस्नियाहर्जगोभिनासँग बराबरी गर्दै क्यानडाले १ अंक जोडेको थियो।
चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ।
अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए।
त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो। खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे।
आजै समूह ‘ए’को अर्को खेल मेक्सिको र दक्षिण कोरियाबिच हुनेछ। उक्त खेल नेपाली समयअनुसार राती १२ः४५ बजेबाट सुरु हुनेछ।