काठमाडौँ। नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै हिसान अब क्यान महासंघको 'सस्टेनेबिलिटी पार्टनर'को रूपमा जोडिएको हो।
यी दुई अग्रणी संस्थाहरूले संयुक्त रूपमा नेपालका सबै ७ वटै प्रदेशमा रणनीतिक रूपमा शिक्षकका लागि एआई राष्ट्रव्यापी कार्यशाला शृङ्खला सञ्चालन गर्नेछन्।
यो द्विपक्षीय साझेदारीले शैक्षिक सुशासन र स्थानीय प्रविधिको विकासबीचको खाडललाई पुर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूलाई प्रविधिको सामान्य प्रयोगकर्ता मात्र बनाउनुको सट्टा, उनीहरूलाई आविष्कारक र सिर्जनाकर्ता बनाउनका लागि सबैभन्दा पहिले शिक्षकहरूलाई नै प्रविधिमैत्री र दक्ष बनाउनु आवश्यक रहेको ठहर यस अभियानले गरेको छ।
समझदारी पत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्। उक्त हस्ताक्षर समारोहमा क्यान महासंघका महासचिव चन्द्र बिलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह, हिसानका महासचिव रामहरि सिलवाल, बागमती प्रदेशका अध्यक्ष राज कुमार आचार्यको विशेष उपस्थिति रहेको थियो।
यस राष्ट्रव्यापी अभियानको मूल मेरुदण्डको रूपमा रहेको "एआई फर एजुकेटर" को अवधारणागत खाका र प्राविधिक स्वरूप सूचना प्रविधि क्षेत्रका स्थापित नेतृत्वकर्ता तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विकास गरेका हुन्।
साझेदारीका मुख्य ३ उद्देश्य:
१. राष्ट्रव्यापी शिक्षक क्षमता अभिवृद्धि: सातै प्रदेशका शिक्षक तथा प्राध्यापकहरूका लागि व्यावहारिक, 'ह्यान्ड्स-आन' आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल रूपान्तरण सम्बन्धी कार्यशालाहरू सञ्चालन गर्ने।
२. शैक्षिक सूचना प्रविधि रूपान्तरण: हिसान अन्तर्गतका शिक्षण संस्थाहरूमा सुरक्षित सञ्चार नेटवर्क, डाटा अटोमेसन फ्रेमवर्क र क्लाउड इकोसिस्टमको अवस्था मूल्याङ्कन एवं सुदृढीकरणमा सहयोग गर्ने।
३. पाठ्यक्रमको मानकीकरण: प्रम्प्ट इन्जिनियरिङ, एआईमा आधारित शिक्षण सामग्री उत्पादन, डिजिटल सुरक्षा र प्राज्ञिक इमानदारिताका आधारभूत विषयहरूलाई पाठ्यक्रममा समावेश गर्ने।
प्राविधिक कार्यान्वयन र व्यवस्थापन
यस सम्झौताअन्तर्गत क्यान महासंघले आफ्ना प्रादेशिक र जिल्ला शाखाहरू परिचालन गर्नेछ भने विशिष्टीकृत तालिमहरूलाई उच्चस्तरीय बनाउन आधिकारिक प्राविधिक कार्यान्वयन साझेदार परिचालन गरिनेछ। हिसानले यस अभियानको संस्थागत नेतृत्व गर्दै आफ्ना सदस्य कलेजहरूबीच समन्वय गर्नेछ र प्रादेशिक तालिम केन्द्रहरूका लागि आवश्यक भौतिक पूर्वाधार, कम्प्युटर ल्याब र इन्टरनेटको जिम्मेवारी सम्हाल्नेछ।
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने,"वास्तविक डिजिटल रूपान्तरण कक्षाकोठाबाटै सुरु हुन्छ। हाम्रा शिक्षकहरूलाई एआई, डाटा साइन्स र डिजिटल सुरक्षा जस्ता आधुनिक सीपहरूले सुसज्जित गराएर हामी नेपाली युवा मस्तिष्कहरूलाई भविष्यको प्रविधि स्टार र सिर्जनाकर्ता बनाउने बलियो जग बसाल्दैछौँ।" यस राष्ट्रव्यापी अभियानको मूल मेरुदण्डको रूपमा रहेको "एआई फर एजुकेटर"को अवधारणागत खाका र प्राविधिक स्वरूप सूचना प्रविधि क्षेत्रका स्थापित नेतृत्वकर्ता तथा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विकास गरेका हुन्।
"क्यान महासंघसँगको यो ऐतिहासिक समझदारी केवल एउटा सम्झौता मात्र होइन, हिसान र यसका सदस्य शिक्षण संस्थाहरूलाई डिजिटल युगमा लैजाने एउटा बलियो प्रस्थानविन्दु हो। हामी यस सहकार्यमार्फत नेपालमा एउटा यस्तो सुदृढ डिजिटल प्लेटफर्म र इकोसिस्टम (पारिस्थितिक प्रणाली) को निर्माण गर्नेछौँ, जसले हाम्रा विद्यार्थी र शिक्षकहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ," हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माले भने।
क्यान महासंघ र हिसानबीचको यो रणनीतिक सहकार्यले नेपाली शैक्षिक जगतमा एउटा नयाँ आयाम थप्ने र माध्यमिक तथा उच्च माध्यमिक शिक्षण संस्थाहरू विश्वव्यापी डिजिटल अर्थतन्त्रको माग अनुसार प्रतिस्पर्धा गर्न सक्षम हुने विश्वास लिइएको छ।