काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । प्ले स्टोरमा उपलब्ध एपमध्ये तीन बर्षमा १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ ।
आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक डाउनलोड भएको छ । वेवपेजबाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेको खल्तीका निर्देशक अमित अग्रवालले बताए ।
उनले भने ‘छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा हामी निकै उत्साहित भएका छौं । हामीलाइ आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएका छौं । सरकारले डिजिटल प्रविधिबाट भुक्तानी प्रक्रियालाइ प्रोत्साहन गरिरहेका बेला नेपालीले ‘खल्ती’लाइ आफ्नो स्मार्ट फोनको अभिन्न एप बनाउनु भएकामा हामी उहाँहरूलाइ धन्यवाद दिन चाहन्छौ ।’
नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ । यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो । यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन् । इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो (चैत) तथ्याङ्क अनुसार १ करोड ६ लाख ७० हजार जना नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाख ९२ हजार ७ सय २४ जनाले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । ‘खल्ती’ले बैंकिङ पहुँचमा नरहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याएर वित्तीय सेवा प्रदान गर्न अझै भूमिका खैल्ने कम्पनीले प्रण गरेको छ । कम्पनीले खल्ती नेपाली भर्सनमा पनि छिट्टै ल्याउने तयारी गरेको छ ।