काठमाडौं। मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण एलपी ग्याँसको अभाव नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमले बजारमा आधा सिलिण्डर ग्याँस बिक्री गरेको करिब चार महिना पूरा हुँदैछ। यसबीच अहिले बजारमा पर्याप्त मात्रामा ग्याँस पाइरहेको छ।
युद्धको सुरुवाती समयमा उपभोक्ताले आवश्यकताभन्दा त्रासका कारण धेरै ग्याँस घरमा स्टक गर्न थालेपछि बजारमा कृतिम अभाव देखिएपछि त्यसलाई पूर्ति गर्न नेपाल आयल निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिण्डर मात्र बजारमा पठाएको थियो।
बजारमा आधा सिलिण्डर पठाएलगत्तै कृतिम अभाव हटेको थियो। अहिले बजारमा पर्याप्त मात्रामा ग्याँस पाइरहेको बेला पनि किन आधा सिलिण्डर मात्र बेचेको भन्दै निगममाथि प्रश्न उठ्न थालेको छ।
यस विषयमा निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले भरी सिलिण्डर पाउन अझै केही समय कुर्नुपर्ने बताउँछन्। अमेरिका र इरानबीचको युद्ध रोकिए पनि ग्याँस आपूर्तिमा अझै सहजताको ग्यारेन्टी नभएसम्म पूरा सिलिण्डिर पठाउन सक्ने अवस्था नभएको उनले बताए।
‘अहिले दैनिक ८० देखि ८५ बुलेट ग्याँस भारतबाट नेपाल आइरहेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘पूरा सिलिण्डर बजारमा पठाउन कम्तीमा दिनको १०० बुलेट आउनुपर्छ।’
नेपाललाई ग्याँस बेचिरहेको इन्डियन आयल कर्पोरेशनले पनि तत्कालको अवस्थामा दैनिक १०० बुलेट ग्याँस पठाउने ग्यारेन्टी गर्न नस्कने जवाफ दिँदै आएको प्रवक्ता ठाकुरको भनाइ छ।
ग्याँस पसलबाट उपभोक्ताले आफ्नो घरसम्म पुर्याउने भाडाबापत बुझाउने शुल्कमा मारमा परिरहेका छन्।
‘मंगलबार मात्र पनि इन्डियन आयल कर्पोरेशनसँग दैनिक १०० बुलेट पठाउन सकिन्छ भनेर छलफल भएको थियो,’ प्रवक्ता ठाकुरले भने, ‘हर्मुजमा अवरोध हटेको वा खुलेको भन्ने यकिन जानकारी नआएकोले तत्कालका लागि ग्यारेन्टी दिन सक्दैनौँ।’
फेरि हाहाकारको चिन्ता
पहिलाको तुलनामा अहिले ग्याँसको माग निकै कम छ। तर, पूरा सिलिण्डर ग्याँस पठाएर भारतबाट पर्याप्त मात्रामा नआएमा फेरि बजारमा अभाव हुन सक्ने चिन्ता अहिले निगमले लिइरहेको छ।
त्यसैले बरु आधा सिलिण्डर मात्र पठाउने, भारतबाट पर्याप्तताको ग्यारेन्टी नभएसम्म पूरा सिलिण्डर नपठाउने निर्णय भएको जनाएको छ।
ढुवानीमा चर्को शुल्क तिन बाध्य
ग्याँस पसलबाट उपभोक्ताले आफ्नो घरसम्म पुर्याउने भाडाबापत बुझाउने शुल्कमा मारमा परिरहेका छन्। पूरा सिलिण्डर वा आधा सिलिण्डर जति लगे पनि उही शुल्क लिने भएकाले पनि उपभोक्ता मारमा परिरहेको केही उपभोक्तावादीले चिन्ता व्यक्त गरिरहेका छन्।
तर, निगमले भने हाकार हुनुभन्दा केही समय बढी भाडा शुल्क तिर्दा सहज हुने निष्कर्ष निकाल्दै आएको जनाएको छ।