काठमाडौं। अमेरिका र इरानबीच भएको युद्ध रोकिएसँगै अहिले तेल ओसारपसारका लागि प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मोजबाट व्यावसायिक जहाजहरुको आवतजावत पहिलाकै अवस्थामा सञ्चालन हुन थालेको छ। योसँगै अन्तर्राष्ट्रिय बजारमा दैनिक रुपमा कच्चा तेलको मूल्य घटिरहेको छ।
बीबीसीका अनुसार तेलको मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिको विन्दुमा झरेको छ। बिहीबार कच्चा तेलको मूल्य प्रतिव्यारेल ७० अमेरिकी डलरभन्दा तल झरेको हो।
अन्तर्राष्ट्रिय बजारमा दैनिक रुपमा कच्चा तेलको मूल्य घटिरहेको बेला नेपालमा पनि इन्धनको मूल्य घट्ने अपेक्षा उपभोक्ताहरुले गर्न थालेका छन्। बिहीबार सामाजिक सञ्जालमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्टाटसमार्फत आयल निगमले घटेको मूल्यअनुसार उपभोक्तालाई तत्काल इन्धन उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ दशमलव ६३ अमेरिकी डलरबाट घटेर ६९ दशमलव २१ डलरमा पुगेको भए पनि नेपाली उपभोक्ताले अझै पनि महँगो दरमै इन्धन किन्न बाध्य हुनु दुःखद भएको उल्लेख गरेका छन्।
महामन्त्री पौडेलको स्टाटससँगै अहिले सामाजिक सञ्जालमा आयल निगमले भारतबाट संस्तोमा तेल किनेर नेपालमा उपभोक्तालाई महँगोमा बेचिरहेको आरोप लगाइरहेको छ।
यही बीच नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले नयाँ मूल्यसूची नआएसम्म नेपालमा मूल्य घटबढ नहुने बताउँछन्। नेपालले इन्धन खरिद गर्ने भारतको इण्डिन आयल कर्पोरेशनबाट प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा आउने मूल्यअनुसार मात्र समायोजन गर्नुपर्ने भएकाले अहिले अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि उपभोक्तालाई घटाएर दिन नसकेको उनले बताए।
नयाँ सूचीअनुसार मूल्य बढेर आए पनि उपभोक्ताहरुलाई भने निगमले साविककै मूल्यमा इन्धन बेच्ने निर्णय सार्वजनिक गरेको थियो।
इण्डियन आयल कर्पोरेशनसँगको सम्झौतामा प्रत्येक १५-१५ दिनमा नयाँ मूल्यमा इन्धन खरिद गर्ने र सोही मूल्य लागू गर्ने भएकाले पनि अहिले अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा घटाउन नसकिएको उनको भनाइ छ।
इण्डियन आयल कर्पोरेशनले समय जुन १ र जुन १५ मा नयाँ मूल्य समायोजन गरी पठाएको थियो। सोही मूल्यअनुसार अहिले निगमले इन्धन खरिद गर्दै आएको छ। नेपालमा पनि त्यही मूल्यअनुसार बेचिरहेको जनाएको छ।
जुन १ मा एलपी ग्याँस र हवाई इन्धनको मूल्य बढाएर आएको थियो। त्यस्तै जुन १५ मा आएको नयाँ मूल्यसूचीमा पनि पेट्रोल र डिजेलको मूल्य बढेर आएको थियो। तर, नयाँ सूचीअनुसार मूल्य बढेर आए पनि उपभोक्ताहरुलाई भने निगमले साविककै मूल्यमा इन्धन बेच्ने निर्णय सार्वजनिक गरेको थियो।
तर, पहिलो चार दिनदेखि निरन्तर रुपमा कच्चा तेलको मूल्य घटे पनि ३० तारिखसम्म बढेकै मूल्यमा इण्डियन आयल कर्पोरेशनसँग किन्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ। अब जुलाई १ मा आउने नयाँ मूल्यसूची थपघट हुनेबाहेक यो बीचमा मूल्य समायोजन गर्न सम्भव नभएको प्रवक्ता ठाकुरको भनाइ छ।
घटेको मूल्य किन सार्वजनिक हुँदैन?
२०८२ चैतमा एक सातामै दुई पटक मूल्य बढाएको निगमले अहिले अन्तर्राष्ट्रिय बजारमा घट्दा किन मूल्य सार्वजनिक गरिएन भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
निगम प्रवक्ता ठाकुरले त्यो बेला एकै पटक पेट्रोलको मूल्यमा लिटरमै ९५ रुपैयाँ बढेर आएको र स्वचालित मूल्यअनुसार सोही रकम समायोजन गर्दा उपभोक्तालाई मारमा पर्ने भएकाले दुई पटक गरी मूल्य बढाएको बताए।
बाध्यकारी अवस्थामा निगमले सञ्चित रकमबाट घाटा बेहोर्दै मूल्य समायोजन गरेको बताउँदै अहिलेको परिस्थिति त्यो खालको नभएकाले मूल्यसूची सार्वजनिक नगरिएको समेत जानकारी दिए।