काठमाडौं । लकडाउनअघि नै ४० प्रतिशतमा सीमित भएको मोवाइलको बजार एकाएक ७० प्रतिशत पुगेको छ । सरकारले सीमामा अत्यधिक कडाई गरेपछि चोरी पैठारी भएर आउन रोकिएपछि मोवाइलको बजार अप्रत्यासित रुपमा सुधारिएको व्यापारीहरुले बताएका छन् ।
एकातिर भारतबाट चोरी पैठारी भएर आउन रोकिएको छ भने अर्को तिर विद्यालयले जुममार्फत कक्षा सञ्चालन गर्न थालेपछि बजार एकाएक सुध्रिएको सम्बद्ध व्यापारीको भनाइ छ ।
‘सामान्य अवस्थामा ४० प्रतिशत मोवाइल चोरी भएर नेपाल भित्रिन्थ्यो । अहिले त्यो पूर्ण रुपमा रोकिएको छ,’ मोवाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले क्यापिटल नेपालसंग भने, ‘चोरी पैठारी भएर आउन पूर्ण रुपमा बन्द, अधिकांश कार्यक्रम जुम मार्फत हुन थालेपछि र विद्यालयले अनलाइन कक्षा लिन थालेपछि मोबाइलको बजारमा व्यापक सुधार आएको हो ।’
उनका अनुसार लकडाउन अघि सामसुङले दैनिक एक हजार २ सय थान मात्रै बिक्री गर्दै आएको थियो । तर, अहिले दैकिन एक हजार ८ सय थानसम्म फोन बिक्री गर्न थालेको उनले बताए ।
नेपालको मोवाइल बजारलाई सिध्याउन चोरी पैठारीले ठूलो सहयोग गरेको थियो । तर, मुलुक लककडाउन भए पछि एउटा पनि फोन चोरी पैठारी भएर नेपाल भित्रिन सकेका छैनन् । त्यसैको कारण देशभित्र मोवाइलको बजार सुधारिएको मल्होत्राले जानकारी दिए ।
अधिकांश नेपालीले भारतबाट अनलाइनमार्फत नेपालमा फोन मगाउने गरेका थिए । त्यही कारणले नेपालको मोवाइलको बजार विस्तारै खुम्चिँदै गएको थियो । ‘अहिले त भारतबाट आउने सम्भावना भएन्,’ उनले भने, ‘त्यही कारणले बजारमा फोनको बिक्री र माग बढेको हो ।’
अहिले विभिन्न देशबाट विमान चार्टर गरेर मोबाइल आयात हुँदै आइरहेको छ ।