भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो।
रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्।
अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ। महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्की प्रतिस्पर्धामा छन्।
महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन्। महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल र शिशिर खनाल तथा राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।
पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए।
सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन्। महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।