लन्डन। हिथ्रो विमानस्थलले चालु वर्षको यात्रु संख्या र आम्दानीसम्बन्धी पूर्वानुमान घटाएको छ । विमानस्थलले शुक्रबार जारी गरेको प्रतिवेदनअनुसार, हालसम्म यात्रु माग सन्तोषजनक रहेको भए तापनि इरान युद्धका कारण भविष्यको सम्भावना अनिश्चित बनेको छ।
विमानस्थलको आधार अनुमान अनुसार यस वर्ष ८३.६ मिलियन यात्रुले सेवा लिनेछन्, जुन गत वर्षको तुलनामा १.१ प्रतिशत कम हो। मध्यपूर्वको सङ्घर्ष निरन्तर जारी रहेकाले यात्रु संख्या थप घट्न सक्ने जोखिम रहेको विमानस्थलले जनाएको छ। यात्रु संख्याको व्यापक अनुमान भने ८०.१ मिलियनदेखि ८४.५ मिलियनसम्म रहेको छ । हिथ्रोले आफ्नो प्रतिवेदनमा भन्यो, "मध्यपूर्वमा जारी अस्थिरताले क्षेत्रीय यातायातमा मात्र नभई विश्वव्यापी यात्रा माग पनि निरुत्साहित हुने जोखिम छ । यसको असर वर्षको बाँकी समयभर महसुस हुन सक्छ।"
यसअघि हिथ्रोले सन् २०२६ को डिसेम्बरसम्म ८५ मिलियन यात्रु आउने अनुमान गरेको थियो। तर अहिले त्यो अनुमान १.४ मिलियनले घटाइएको छ। यस वर्षको जनवरीदेखि मेसम्मका पाँच महिनामा यात्रु संख्या गत वर्षको तुलनामा ०.७ प्रतिशतले बढेर ३२.८ मिलियन पुगेको छ। यो वृद्धिमा ठूला विमान र पारवहन उडानहरूको संख्यामा भएको बढोत्तरीको योगदान रहेको छ। यद्यपि जारी इरान युद्धले यातायातमा उल्लेखनीय नकारात्मक दबाब पारिरहेको विमानस्थलले स्वीकार गरेको छ।
आर्थिक पक्षमा पनि असर उत्तिकै गम्भीर छ । ब्याज, कर, ह्रास र परिशोधनअघिको समायोजित आम्दानी सन् २०२५ को तुलनामा १ अर्ब ४७ करोड पाउन्डले घट्ने अनुमान छ। त्यस्तै, डिसेम्बर २०२५ को लगानीकर्ता प्रतिवेदनको अनुमानभन्दा ६० करोड पाउन्डले कम हुने प्रक्षेपण गरिएको छ। कम यात्रु संख्याका कारण वैमानिक राजस्व डिसेम्बरको प्रतिवेदनको तुलनामा ४९ करोड पाउन्डले घट्ने अपेक्षा छ। तथापि, गैर–वैमानिक आम्दानी भने अघिल्लो अनुमानसँग लगभग मेल खाने देखिएको छ।
युरोपकै व्यस्ततम अन्तर्राष्ट्रिय विमानस्थल मानिने हिथ्रोमा आएको यो गिरावटले इरान युद्धको असर केवल मध्यपूर्वमा सीमित नरहेर विश्वका प्रमुख हवाई यातायात केन्द्रहरूमा समेत पुगिसकेको स्पष्ट सङ्केत दिन्छ ।