काठमाडौं। महिलाका लागि सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले उपत्यकामा ब्लू बस सञ्चालनको घोषणा गरेको छ। सरकारको घोषणाअनुसार अहिले एउटा विद्युतीय सवारीसाधन (ईभी) गाडी ब्लू बसको रुपमा सञ्चालन गर्दा वार्षिक कति खर्च लाग्छ भन्ने अनुमानित हिसाबसहितको मोडालिटी तयार पारिँदै छ।
यातायात व्यवस्था विभागले तयार पारेको मोडालिटीअनुसार एउटा (ईभी) ब्लू बस सञ्चालन गर्न वार्षिक साढे २८ लाख २५ हजार खर्च हुने प्रक्षेपण गरिएको हो।
यातायात व्यवस्था विभागले साझा यातायातसँग सहकार्य गरी ब्लु बस संचालनका लागि आवश्यक लागत लगायतका विषयमा छलफल गरी मोडालिटी तयार पारेको हो। साझा यातायातबाट प्राप्त भएको ड्राफ्टलाई थप अध्ययन र निर्देशनका लागि पूर्वाधार विकास मन्त्रालय पठाएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राई बताउँछन्।
‘साझा यातायातबाट प्राप्त भएको ड्राफ्टलाई थप अध्ययन र निर्देशनका लागि मन्त्रालय पठाइएको छ,’ सुचना अधिकारी राईले भने, ‘मन्त्रालयले अझ विस्तृत र सूक्ष्म विवरणसहितको प्रस्ताव माग गरेपछि साझाले परिमार्जित प्रस्ताव मन्त्रालयमा बुझाइसकेको छ।’ अहिले मन्त्रालयले उक्त प्रस्तावमा छलफल गरिरहेको छ।
‘हालको क्याल्कुलेसन र योजना अनुसार मुख्यतया विद्युतीय सवारी साधन मात्र चलाउने गरी आर्थिक पक्ष हेरिएको छ,’ उनले भने, ‘सेवाको सुरुवात पहिलो चरणमा काठमाडौं उपत्यकाबाटै गरिने योजना भएको छ। उपत्यका बाहिर सेवा विस्तार गर्ने विषयमा भने अझै छलफल भइरहेको छ।’ अन्तिम सञ्चालन मोडालिटी टुंगो नलागेसम्म सेवा सुरु नहुने उनको भनाइ छ। उनकाअनुसार ब्लु बस सञ्चालन कहिलेदेखि हुन्छ भन्ने कुरा अझै निश्चित भइसकेको छैन। यसका लागि मन्त्रालयसँग छलफल भइरहेको छ। मन्त्रालयबाट हालसम्म कुनै थप नयाँ निर्देशन भने आइसकेको छैन प्रस्ताव अहिले अध्ययनकै क्रममा रहेको राईले बताए।
सरकारले ल्याएको १०० बुँदे कार्ययोजना अन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। यातायात व्यवस्था विभाग र साझा यातायातबीच भएको प्रारम्भिक छलफल अनुसार एउटा विद्युतीय बस सञ्चालन गर्न २८ लाख ३५ हजार ३६ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यस वार्षिक खर्चको विस्तृत बाँडफाँड अनुसार गाडी चार्ज गर्नको लागि मात्र वार्षिक ५८ हजार ३२० रुपैयाँ लाग्ने छ।
मर्मत सम्भारको लागि वार्षिक १० लाख ६५ हजार २०४ रुपैयाँ खर्च लाग्नेछ। भने जनशक्ति व्यवस्थापन (चालक र परिचालकको तलब) मा ११ लाख ८६ हजार ६३२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
‘ब्लु बस’ सञ्चालनको लागि तयार पारेको मोडालिटीअनुसार एउटा गाडी चार्ज गर्नको लागि प्रति दिन करिब १ हजार ६२० खर्च लाग्ने अनुमान गरिएको छ। जनशक्ति व्यवस्थापनको लागि प्रति महिना चालकको ५१ हजार ६०३ र सहचालकको लागि ४७ हजार २८३ खर्च हुनेछ।
यातायात व्यवस्था विभागले पहिलो चरणमा साझा यातायातसँग सहकार्य गरी ८ वटा बस चलाउने प्रस्ताव तयार पारेको छ। ८ वटा बसका लागि कुल वार्षिक खर्च यदि काठमाडौं उपत्यकामा प्रस्तावित ८ वटा बसहरू सबै विद्युतीय हुने हो भने तिनको कुल वार्षिक सञ्चालन खर्च २ करोड २६ लाख ८० हजार आवश्यक पर्ने अनुमान गरिएको छ। नयाँ विद्युतीय बस खरिद गर्दा प्रति बस कम्तीमा २ करोड अनुमानित लागत लाग्नेछ। ८ वटा बसको लागि १६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
प्रस्तावित योजनाअनुसार पहिलो चरणमा मिति २०८३ साल श्रावण १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ८ वटा साझाका विद्युतीय बस सञ्चालन हुनेछ। बस बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिनेछ। पछिल्लो चरणमा लगनखेल बुढानीलकण्ठ रुटमा २ वटा बस सञ्चालन गरिने छ। थानकोट नागढुगां–एयरपोर्ट हुँदै २ वटा बस सञ्चालन गरिने छ भने चक्रपथ (रिङरोड) ४ वटा बस (२ वटा क्लकवाइज र २ वटा एन्टिक्लोकवाइज) दिशामा सञ्चालन गर्ने योजना रहेको छ।
यो सेवा मुख्य रूपमा महिलाहरूका लागि लक्षित र निःशुल्क हुनेछ। ब्लु बस खरिद तथा सञ्चालनका लागि हरेक वर्ष आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्ने, प्रत्येक आर्थिक वर्षको श्रावण मसान्तभित्र उक्त बजेट साझा यातायातलाई उपलब्ध गराउने र विद्युतीय बसहरूका लागि चार्जिङ स्टेशन र पार्किङ स्थल उपलब्ध गराउने, साथै अन्य आवश्यक पूर्वाधार निर्माणमा साझा यातायातलाई सहयोग गर्ने दायित्व तथा जिम्मेवारी सरकारको हुनेछ। ८ बस सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अनुगमन र सहजीकरण सरकारले गर्नेछ।
बस खरिद गर्ने रुट व्यवस्थापन गर्ने र बस सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, जनशक्ति व्यवस्थापन तथा परिचालन गर्ने र बसको नियमित तथा आकस्मिक मर्मत सम्भार गर्ने दायित्व तथा जिम्मेवारी साझा यातायातको हुने विभागले जनाएको छ।