काठमाडौं। नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार विद्युतीय सवारी साधन (ईभी)को बीमा, क्षति मूल्यांकन तथा मर्मत सम्भारमा देखिएका चुनौती एवं समस्या र समाधानका उपायसम्बन्धी छलफल सम्पन्न भएको छ।
ईभीको क्षति मूल्यांकनमा एकरुपता कायम गर्ने, मूल्यांकनमा देखिएका समस्या तथा चुनौती पहिचान गरी समाधानका उपाय पहिल्याउने र सवारी साधान बीमासम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्ने सन्दर्भमा सुझावहरू संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भ राज लामिछानेले बजारमा ईभीको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा परम्परागत मोटर बीमालेखलाई परिमार्जन गर्ने कि छुट्टै विद्युतीय सवारी साधन बीमालेख ल्याउने भन्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए।
निर्देशक लामिछानेले ईभीसम्बन्धी छुट्टै बीमालेख ल्याउनु आवश्यक भएमा ईभी निर्माता, डिलर, यातायात व्यवसायी, बीमक, बीमा सर्भेयरलगायत सबै सरोकारवालाबाट सुझाव लिइने बताए। उनले जोखिम विश्लेषणका लागि ईभीको आयात, बिक्री, प्रयोग, क्षति, मर्मत सम्भार, बीमा सर्भे, दाबी र भुक्तानीलगायतको तथ्यांक आवश्यक पर्ने भएकाले तीसम्बन्धी समग्र विषयको सही तथ्यांक राख्न सम्बद्ध सबैसँग आग्रह गरे।
नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सरकारले ल्याएको तेस्रो पक्ष बीमासम्बन्धी नीति बमोजिम विद्यमान मोटर बीमालेखको परिमार्जन र ईभी बीमालेखका सन्दर्भमा सरोकारवाला सबैको सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए। उनले ईभीको क्षति मूल्यांकनमा एकरूपता, समस्या तथा चुनौतीको सम्बोधनमा स्पष्टता र ह्रास कट्टीलगायत समसामयिक विषयमा सुझाव दिन सबैसँग आग्रह गरे।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनका तर्फबाट ईभीको वर्तमान अवस्था, समस्या तथा चुनौती र समाधानका उपायहरू तथा रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्सतर्फबाट ईभीको बीमासम्बन्धी प्रस्तुती गरिएको थियो।
यसैगरी, नेपाल सर्भेयर संघका तर्फबाट ईभी सर्भेको वर्तमान अवस्था, समस्या तथा चुनौती र समाधानका उपायहरू तथा बीमक संघ, नेपालका तर्फबाट विद्युतीय सवारी साधनको दाबी भुक्तानीको विद्यमान अवस्था, समस्या तथा चुनौति र समाधान उपायहरू सम्बन्धी प्रस्तुती गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले परम्परागत सवारी साधानको तुलनामा ईभी महँगो हुने गरेकालो बीमा दाबी बढी हुने गरेको, मर्मत सम्भारको जिम्मा धेरैजसो निर्माता र डिलर आफैँले लिने गरेका कारण मर्मत सम्भारभन्दा पनि पार्टपूर्जा फेर्न जोड दिने गरेकाले खर्च बढ्ने गरेको, जोखिम मूल्याङ्कन सही रूपमा हुने नगरेको र विद्युतीय सवारी साधनको बीमाका लागि छुट्टै बीमालेख आवश्यक भएको धारणा राखेका थिए।
यसैगरी, ईभीका चालकका लागि तालिम आवश्यक भएको, मर्मतका लागि पर्याप्त संख्यामा वर्कसप नभएको, ब्याट्रीको ह्रासकट्टी बढी भएको, सरकारले ईभी आयातमा सहुलियत दिएको तर पार्टपूर्जामा भने सहुलियत नदिएका कारण मर्मत सम्भार खर्च बढी हुने गरेकाले यससम्बन्धी नीतिमा सुधार गर्नुपर्ने देखिएको र ईभीमा प्रयोग हुने ब्याट्रीको उपयोग तथा क्षतिपछिको व्यवस्थापनसम्बन्धी नीति ल्याउनु आवश्यक रहेको लगायतका विचार सहभागीहरूले व्यक्त गरे।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा उपनिर्देशकहरू, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ र बीमक संघ, नेपालका पदाधिकारीको सहभागिता रहेको थियो।