काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा सहीछाप लगाएको छ। स्थापनाको चार वर्षमा चितवनमा आयोजना गरिएको ‘भद्रगोल’ महाधिवेशले संस्थापक सभापति रविलाई सर्वसम्मत नेतृत्व सुम्पएर रास्पवा नयाँ गतिमा दौडिएको उद्घोषसमेत गरिएको छ।
सभापति रवि सर्वसम्मत हुँदा खुलातर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए। वाग्लेले केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएका डा. वाग्ले पदाधिकारी चुनावमा प्रतिस्पर्धीविहीन बनेका हुन्। पहिले उपसभापति उमेदवार बन्ने बताउँदै आएका नेता विराजभक्त श्रेष्ठ प्रस्तावक बसेपछि यसअघिका उपसभापति वाग्ले निर्विरोध भए।
वाग्ले कांग्रेस परित्याग गर्दै ०७९ चैतमा उपचुनावको मुखमा रास्वपा प्रवेश गरेका थिए। प्रवेशलगत्तै तनहुँ १ बाट निर्वाचित हुँदै डा. वाग्ले संसद् प्रवेश गरेका थिए।
महिलातर्फ उपसभापतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम निर्वाचित भइन्। गौतम अर्की संस्थापक नेतृ तथा सांसद डा. तोसिमा कार्कीलाई पछि पार्दै उपसभापति निर्वाचित भएकी हुन्। गौतम र कार्की २०७९ र २०८३ दुवै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
खुला महामन्त्रीमा रास्वपाका संस्थापकमध्येका नेता विपिन आचार्य निर्वाचित भएका छन्। यसअघि सहमहामन्त्री रहेका आचार्यले निवर्तमान प्रवक्ता मनिष झालाई पछि पार्दै महामन्त्री निर्वाचित भएका हुन्। उनलाई महामन्त्रीमा उममेदवारी दर्ता गरेका कविन्द्र बुर्लाकोटी, गणेश पराजुलीसहितका संस्थापक नेता तथा विवेकशिल पार्टीबाट आएकी रञ्जु दर्शना र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका थिए।
सहमहामन्त्रीमा खुल्लातर्फ संसद्को राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका सांसद हरि ढकाल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह निर्वाचित भएका छन्। ढकाल २०७९ को निर्वाचनमा र यसपटक चितवन–१ बाट निर्वाचित सांसद हुन्। शाह २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए। रवि–बालेन एकतामा उनले संयोजनकर्ताको भूमिका खेलेका थिए।
महिलातर्फबाट ०७९ मा समानुपातिक र यसपटक प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदसमेत रहेकी निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएकी छन्। डाँगी सांसद रिमा विश्वकर्मालाई पछि पार्दै निर्वाचित भएकी हुन्। रिमा रास्वपाको समानुपातिकबाट सांसद हुन्। डाँगी भने झापा–१ बाट निर्वाचित हुन् ।
अब एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता सभापति लामिछानेले नियुक्त गर्नेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन शाह (बालेन) नियुक्त हुने पक्का छ। रास्वपा पदाधिकारी निर्वाचनमा चार हजार ३११ मध्ये एक हजार २८९ ले मात्र भाग लिएका थिए। सभापति लामिछाने चितवनमै भएर पनि पदाधिकारी निर्वाचनको मतदानमा सहभागी भएनन्। प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता शाह केन्द्रीय सदस्य चुनावमै भाग नलिई काठमाडौं फर्किएका थिए।
यसअघि केन्द्रीय सदस्यको चुनावमा दुई हजार ९५९ जनाले मतदानमा भाग लिएका थिए।