काठमाडौं। ग्लोबल आइएमई बैंकले उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ अवसरमा आयोजित कार्यक्रममार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिबाट आवेदन आह्वान गरेको छ।
उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको घोषणा गरे।
उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्नेछ। पहिलो इन्क्युबेसन र दोस्रो एक्सिलेरेसन, इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित गरी सञ्चालन गरिनेछ। यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यसैगरी, एक्सिलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीलाई समेटिनेछ। यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायसँगको पहुँचमा सहजीकरण गरिनेछ।
कार्यक्रममार्फत सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।
बैंकले हाल ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।