कास्की। अघिल्लो वर्षको तुलनामा यस वर्ष एक साताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन्। जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ।
जिल्ला कृषिविकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धानखेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो। सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उनले जानकारीे दिए।
गाउँका टारी खेतमा पानीका मुल अझै नफुटेका कारण रोपाइँ हुन सकेको छैन। अर्यालका अनुसार दुई चार दिनलगातार वर्षा भयो भने टारी खेतमा पनि धान रोपाइँ हुन्छ। सिँचाइ भएका र धानका पकेट क्षेत्र मानिदै आएका फाँट कुँडहर, शिशुवा, फेवाफाँट, विरुवा, सार्दीखोला, लाचोक, हेम्जा, सुइँखेत खुदी, भलाम, बुडुवा सातमुहाने देउराली, सुरौदी, अर्मला, आर्बा फाट, मादीबेसी, मकैखोला, वेगनास तालबेसी जस्ता फाँटका अधिकांश किसानले धान रोपाइँ गरिसकेको अर्यालले बताए।
वार्षिक ८५ हजार मेटन धान उत्पादन हुँदै आएको कास्कीमा बढीमात्रामा उन्नत जातका धानका बीउहरु रोप्ने गरिएको जानकारी उहाँले दिए। ती जातका धानबालीले बढी उत्पादन दिने भएपछि किसान उन्नत जातको धानप्रति आकषित हुने गरेका छन्।
कास्कीमा रैथाने धान जेठोबुढो, गुर्दी, मन्सरा, अनदी बढी हुने गरे पनि पछिल्ला वर्षमा त्यस्ता रैथाने धान कम लगाउने गरिएको पाइएको छ। अधिकांश किसानले उन्नत मनसुली, खुमल, रामधाम, सावित्रीजस्ता जात लगाउँदै आएको जानकारी जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदीप खतिवडाले बताए।
कृषि विकास कार्यालयले सुधारिएको धानको बिउ किसानलाई अनुदान दिँदै आएको र यस वर्ष पनि उक्त बिउका लागि आठ लाख रुपैयाँ छुट्टिएको छ, श्रोत बिउ, औजार, उपकरण वितरण, भण्डारण र वर्गीकरण गरिएको छ। कार्यालयले वार्षिक रूपमा उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै आएको छ।
पोखरा–२४ कास्की कोटका किसान जीवन सुवेदीले यस वर्ष बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुसी व्यक्त गर्दै धानको उत्पादन बढ्ने आशा गरेका छन्। रासायनिक मलमा कुनै पनि कृषि सहकारीले कालोबजारी गरी बढी मूल्यमा बिक्री नगरुन् भनेरै अनुगमन गरिरहेको जानकारी उनले दिए। पछिल्लो समय गोरुको सट्टा ट्याक्टरबाट खेत जोति रोपाइँ गर्ने भएकाले पनि एकै दिन धेरै क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्न सकिने बताए।
समयमै मनुसन सुरु भएकाले र प्राकृतिक प्रकोप तथाकुनै रोग नलागे अघिल्लो वर्षको तुलनामा यस वर्ष कास्कीमा धानको उत्पादन बढ्ने अनुमान कृषि विकास कार्यालय कास्कीको छ।–रासस