वीरगन्ज। गृहमन्त्री सुदन गुरुङले शनिबार स्थानीय सुरक्षा निकायलाई कुनै पूर्वजानकारी नदिई पर्सा र बाराका सीमा नाकाहरूमा छड्के अनुगमन गरेपछि दुवै जिल्लाका सुरक्षा निकायमा खैलाबैला मचिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सकिएलगत्तै शुक्रबार राति करिब ९ बजे चितवनबाट सोझै पथलैया आइपुगेका गृहमन्त्री गुरुङ पूर्व–पश्चिम राजमार्ग हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए। उनले रात सिमराकै एक सामान्य होटेलमा बिताए।
शनिबार दिनभर उनले टिसर्ट, हाफ पाइन्ट, मास्क, कालो चश्मा र क्याप लगाई वीरगन्जस्थित अलौं र पनटोक्कासहित बाराका विभिन्न सहायक सीमा नाकाहरूको अनुगमन गरे। अनुगमनका क्रममा उनले पाँचवटा गाडी फेरे र आफ्ना सुरक्षा अधिकृत (पिएसओ) का मोबाइलसमेत बन्द राखे। प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सुरक्षा निकाय प्रमुखहरूसँग कुनै समन्वय गरिएन।
सुरक्षा निकायले मन्त्रीको उपस्थितिबारे जानकारी नपाएपछि सडक र सार्वजनिक स्थलका सीसीटीभी फुटेज खोतलेर उनको यात्रा ट्र्याक गर्न बाध्य हुनुपरेको स्रोतले जनाएको छ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले गृहमन्त्रीलाई सुरक्षाकर्मीकै मिलेमतो र संरक्षणमा साइकल, मोटरसाइकल र टाउकोमा बोकेर दिनदहाडै तस्करी हुने गरेको जानकारी गराएका थिए। सीसीटीभी क्यामेराका पोलकै आडमा तस्करी हुने गुनासोसमेत स्थानीयले राखेका थिए।
दिनभरको अनुगमनपछि साँझ साढे ५ बजे काठमाडौं फर्किनुअघि गृहमन्त्री गुरुङले सिमरा विमानस्थलमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उपरीक्षकहरूलाई बोलाई सीमा तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका थिए।
उल्लेखनीय छ, सरकारले भन्सार बिन्दुमा सर्वसाधारणलाई एक सय रुपैयाँभन्दा बढीको सामान किनमेल नगर्न कडाई गरेको भए पनि पर्सा–बाराका सीमा नाकाबाट तस्करी निर्बाध रूपमा भइरहेको भन्दै स्थानीयले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए।