काठमाडौं। चीनको अटोमोबाइल बजारमा सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा १५६ वटा नयाँ मोडलहरू सार्वजनिक हुने तयारीसँगै प्रतिस्पर्धा थप चर्किने भएको छ। यसले विशेष गरी साना अटो उत्पादक कम्पनीको नाफामा गम्भीर दबाब पर्ने र नयाँ मूल्य युद्ध (प्राइस वार) सुरु हुने चिन्ता बढाएको विश्लेषकले बताएका छन्।
एचएसबीसीको हालैको प्रतिवेदनअनुसार जुलाईदेखि डिसेम्बरसम्म १५६ नयाँ मोडल बजारमा आउने छन्। तेस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) मा ५८ र अन्तिम त्रैमासिक (अक्टोबर-डिसेम्बर) मा ९८ नयाँ मोडल सार्वजनिक हुने छन्। तीमध्ये करिब ९० प्रतिशत विद्युतीय सवारी (ईभी) हुने अनुमान गरिएको छ।
नयाँ प्रविधि प्रति उपभोक्ताहरूको बढ्दो आकर्षणका कारण चीनका करिब ५० वटा ईभी निर्माताहरूले आफ्नो बिक्री वृद्धि कायम राख्न नयाँ मोडलमा जोड दिइरहेका छन्। तर, एउटा मात्रै नयाँ मोडलको अनुसन्धान र विकासका लागि अर्बौं युआन खर्च हुने भएकाले कमजोर प्रदर्शन गरिरहेका कम्पनीहरू गम्भीर आर्थिक संकटमा फस्ने जोखिम बढेको छ।
सांघाईस्थित परामर्शदाता कम्पनी सुओलेईका वरिष्ठ प्रबन्धक एरिक हान नयाँ गाडीहरूको मागमा केही सुधार देखिए पनि यसले मात्र कार निर्माताहरूको नाफा सुरक्षित गर्न नसक्ने बताउँछन्।
‘नयाँ गाडीहरूको मागमा केही सुधार त देखिएको छ, तर यसले मात्रै कार निर्माताहरूको नाफा सुरक्षित गर्न सक्दैन,’ हानले भने, ‘नयाँ मोडलहरूले मास-मार्केट ब्रान्डहरूको समग्र डेलिभरी त बढाउने छन्, तर तीव्र प्रतिस्पर्धाका कारण केही कम्पनीहरूका लागि ‘गर या मर’ को अवस्था सिर्जना हुन सक्छ।’
बिक्रीमा गिरावट र ओभरक्यापासिटीको चुनौती
चाइना अटोमोटिभ डिलर्स एसोसिएसनका अनुसार जुन महिनाको सवारी डेलिभरी वार्षिक रूपमा २० प्रतिशतले घटेर १६ लाख ५० हजार युनिटमा खुम्चिने प्रक्षेपण गरिएको छ। जुन १९ मा मनाइएको ‘ड्र्यागन बोट फेस्टिभल’का अवसरमा कम्पनीहरूले विभिन्न आकर्षक अफर ल्याए पनि बिक्री दर अपेक्षाअनुसार बढ्न नसकेको एचएसबीसीले जनाएको छ।
जर्मन बैंक ‘डोइचे बैंक’ले यो वर्ष चीनमा इन्धन र ईभी दुवै गरी समग्र सवारी साधनको बिक्री ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको थियो भने वित्तीय सेवा प्रदायक ‘यूबीएस’ले अत्यधिक उत्पादन क्षमता र सरकारी अनुदानमा कटौतीका कारण बिक्रीमा २ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ।
चीनका दुई ठूला कार निर्माता कम्पनीहरू-बिवाइडी र जिलीले जुलाई र अगस्ट महिनामा उच्च कार्यक्षमता भएका ब्याट्री, अत्याधुनिक सेल्फ-ड्राइभिङ सफ्टवेयर र परिष्कृत इन-कार इन्टरटेनमेन्ट सिस्टमसहितका धेरै मास-मार्केट मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।
‘बजार सुस्तताबाट व्यावसायिक सिजनतर्फ मोडिने मुख्य समय अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुतिर हुन सक्छ, जहाँ मागले पुनः बलियो गति लिने हाम्रो अपेक्षा छ,’ एचएसबीसीको प्रतिवेदनमा भनिएको छ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार सन् २०२५ मा चीनले बस, ट्रक र प्यासेन्जर कारसहित कुल ३ करोड ४५ लाख सवारी साधन उत्पादन गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा १०.५ प्रतिशत बढी हो। जेपी मोर्गनका एसिया अटो रिसर्च प्रमुख निक लाइकाअनुसार चीनको कुल वार्षिक उत्पादन क्षमता भने करिब ५ करोड युनिट रहेको छ।
चीनका झण्डै ५० वटा ईभी उत्पादकहरूमध्ये बिवाइडी र स्टेलान्टिसको लगानी रहेको लिपमोटर जस्ता औंलामा गन्न सकिने कम्पनी मात्रै हाल नाफामा छन्। अटो डिलरहरूका अनुसार सन् २०२६ को अन्त्यतिर सस्तो ब्याजदरमा सवारी कर्जा र विभिन्न प्रवद्र्धनात्मक अफरहरूमार्फत मूल्य प्रतिस्पर्धाको अर्को नयाँ रूप देखिने छ।
अटो डिलरहरूका अनुसार सन् २०२६ को अन्त्यतिर छुट, नगद अफर र सस्तो कार ऋणमार्फत अर्को चरणको मूल्य प्रतिस्पर्धा सुरु हुन सक्छ। चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)का अनुसार चीनमा अहिले बिक्री हुने प्रत्येक तीनमध्ये दुई सवारी पूर्ण विद्युतीय वा प्लग-इन हाइब्रिड छन्।
उता, विद्युतीकरणमा ढिलाइ गरेका फक्सवागेन, टोयोटा लगायतका अन्तर्राष्ट्रिय कम्पनीहरूले पछिल्ला वर्षहरूमा चिनियाँ ब्रान्डहरूसँग बजार हिस्सा गुमाउँदै आएका छन्। मे महिनामा विदेशी कम्पनीहरूको संयुक्त बजार हिस्सा ३१.३ प्रतिशतमा सीमित भएको तथ्यांकले देखाएको छ।