काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्य सम्पादन नगर्ने १० निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको सूचना सार्वजनिक गरेको छ। सडकले भक्तपुरका चार र काभ्रेका विभिन्न ६ वटा योजनाको सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द प्रक्रिया अघि बढाएको हो।
ठेक्का रद्द प्रक्रिया अघि बढाइएका योजनामा एनएस बिल्डर्स वीरेन्द्रनगर सुर्खेतले ठेक्का पाएको च्याम्हसिंह नाला बनेपा सडकमा आवधिक मर्मत गर्नेसम्बन्धी दुईवटा ठेक्का रहेका छन्।
२०७६ मंसिर १० गते निर्माण सम्झौता गरेको उक्त दुईवटा ठेक्कामध्ये एउटाको कार्य सम्पन्न गर्नुपर्ने समय २०७७ साउन २८ र अर्को ठेक्काको कार्य सम्पन्न २०७६ चैत १६ गते थियो।
सडकले झिकुखोला पुल निर्माणको ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। अरनिको राजमार्ग तीनपिप्लेदेखि बक्लुटार पलाञ्चोक सडक काभ्रेको सो पुल निर्माणको ठेक्का चन्द्रा÷एन्ड वसन्त एमएम जेभी ललितपुरले पाएको थियो।
सो पुल निर्माणको सम्झौता २०७४ साल जेठ १९ गते भएको थियो भने २०७७ साल मंसिर १२ गते निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
सडकले सुनौलो खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौँसँगको दुईवटा ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। खिम्तीले ठेक्का पाएको लोकन्थली हेल्थपोष्ट रमाइलोचोक चाइल्ड नेचर स्कुल सडक विस्तार र हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटीविहार बहाखाबजार सडक विस्तार गरी दुईवटा योजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो। ती दुईवटै ठेक्काको सम्झौता २०७० चैत २३ गते भएको थियो भने कार्य सम्पन्न गर्नुपर्ने २०७२ असार २२ गते रहेको थियो।
यस्तै, काठमाडौंको इन्द्रायणी र भक्तपुरको चाँगुनारायण जोड्ने मनोहरा खोलाको पुल निर्माणको ठेक्कासमेत रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। लामा lबल्र्डस/साल्पा शेर्पा/जयबाबा गोरख जेभीले सो पुलसँगै पहुँच सडक निर्माण कार्यको ठेक्का पाएको थियो। योजनाको सम्झौता २०६८ असार २७ गते रहेको छ भने कार्य सम्पन्न गर्नुपर्ने २०७६ फागुन ३० सम्म थियो।
सम्झौताअनुसार तोकिएको समय अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेकाले यसअघि कार्य सम्पन्न गर्न मौखिक, टेलिफोन तथा पत्राचारमार्फत सूचना गरिएकामा हालसम्म कार्यप्रगति सन्तोषजनक नदेखिएकाले उक्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ।सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको छ।
तोकिएको समयभित्र व्यवसायी उपस्थित नभए ठेक्का सम्झौता तोडेर जमानतबापतको रकम जफत गर्नुका साथै सम्झौता अन्त्य र व्यवसायीबाट सरकारी बाँकीसरह असुलउपर गरिने डिभिजन कार्यालयको सूचनामा उल्लेख छ।
कार्यालयले ओम नीलकण्ठेश्वर कन्स्ट्रक्सन, कान्तिपथ कन्स्ट्रक्सन, माता चुनदेवी कन्स्ट्रक्सन, बीजी कन्स्ट्रक्सन, जय खाँडादेवी इन्जिनियरिङ, थापा/इम्यानुअल जे.भी., एम.के. सनलाइट जेभी, लामा कन्स्ट्रक्सन एन्ड सप्लायर्स, पी एन्ड के÷पपुलर जेभी र गौतम कन्स्ट्रक्सन रहेका छन्।