काठमाडौं । व्यवसाय विस्तार गर्नु पहिला पुँजीगत आधार बलियो बनाउन मुक्तिनाथ विकास बैङ्कले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैङ्कले ६१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ६१ लाख २९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
मुत्तिनाथले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले तोकेको न्युनतम पुँजी पुरा गरेपनि व्यवसाय विस्तार गर्न हकप्रद सेयर निष्कासनबाट पुँजी बढाउन लागेको बैङ्कका प्रमुख सञ्चालन अधिकृत (सीओओ) तिलबहादुर गुरुङले बताए । बैङ्कले तयार पारेको पञ्चवर्षिय योजना अनुसार हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउन लागेको उनले स्पष्टपारे । बैङ्ले चालु आर्थिक वर्षदेखि २०८० सम्मका लागि व्यवसायिक योजना तयार पारेको छ ।
राष्ट्र बैङ्कले राष्ट्रियस्तरको विकास बैङ्कलाई २ अर्ब ५० करोड रुपैयाँ न्युनतम पुँजी तोकेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी ३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । हकप्रद निष्कासनपछि चुत्तापुँजी बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुग्ने गुरुङले जानकारी दिए ।
जति व्यवसाय बढ्यो त्यही अनुसार पुँजीगत आधार बलियो हुनुपर्ने भएपछि हकप्रद सेयर निष्कासन गर्न लागेको उनले स्पष्टपारे । चालु आर्थिक वर्षको ९ महिनामा बैङ्कले ६० करोड रुपैयाँ खुदनाफा गरेको छ । यो वर्ष नाफा ८० करोड नाघने उनको अनुमान छ ।
गत बैशाखसम्म बैङ्कले ४२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ०.०३ प्रतिशत मात्र छ । मुक्तिनाथ निष्क्रिय कर्जा कम भएको विकास बैङ्क हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि इक्रा नेपालले मुक्तिनाथलाई आईपीओ ग्रेड ३ प्रमाणपत्र दिएको छ ।
उपर्युत बैङ्कसंग मर्जर र एक्विजिसनमा जान तयार रहेको गुरुङ्ले स्पष्टपारे । केन्द्रीय बैङ्कले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिअनुसार बैङ्कले निर्णय लिने उनले सुनाए ।