काठमाडौं। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। मन्त्रालयले कर्मचारीका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्न पाउने छैनन्। शिक्षामूलक वा सूचनामूलक सामग्री भने यसबाट प्रभावित हुने छैन।
आचारसंहिताले फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा कायम राख्नुपर्ने तथा सरकारको नीति–कार्यक्रमविपरीत टिप्पणी वा सामग्री प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ।
यसैगरी, कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट र निष्पक्ष व्यवहार गर्न, कार्यस्थलबाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट नगर्न, पदको दुरुपयोग गरी व्यक्तिगत लाभ नलिन तथा कार्यालय समय, पोसाक र परिचयपत्रको अनिवार्य पालना गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरिने र उल्लंघन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।