काठमाडौं, प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ मुख्य प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलले उठेर विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।
कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूची छ। यसैगरी मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौँ वार्षिक प्रतिवेदन २०८१/८२’ पेस गर्नेछन्।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।