काठमाडौं। कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइ प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
बैंकले मानाकोट माध्यमिक विद्यालय, गौमुल–५, जनज्योति माध्यमिक विद्यालय, वडा–२, अम्लिश माध्यमिक विद्यालय, वडा–१, फूलपाता माध्यमिक विद्यालय, वडा–२, कीर्तिचौर माध्यमिक विद्यालय, वडा–६, बालविकास माध्यमिक विद्यालय, वडा–३ लाई उक्त सहयोग गरेको हो।
बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा सहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ। हाल बैंकले २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।