विराटनगर। मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, बारम्बारको विद्युत ट्रिपिङ र अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले यस्तो अवस्थाले उद्योगहरू धराशायी हुने जोखिम बढेको भन्दै नेपाल विद्युत प्राधिकरणसँग तत्काल समस्या समाधान गर्न माग गरेको छ।
संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा वर्षायाममा समेत बिनापूर्वसूचना दैनिक रूपमा पटक–पटक विद्युत जाने, न्यून भोल्टेज र अघोषित लोडसेडिङ भइरहेकाले उद्योग व्यवसायमा गम्भीर असर परेको उल्लेख छ।
संघका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरे पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगहरूले दैनिक घण्टौंसम्म अनिश्चित विद्युत आपूर्तिको सामना गर्नुपरेको छ। यसले उत्पादन प्रक्रिया, उद्योग सञ्चालन र लगानी वातावरणमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ।
बारम्बारको ट्रिपिङका कारण उद्योगमा जडान गरिएका करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक मेसिनरी, इलेक्ट्रोनिक प्यानल, सफ्टवेयर प्रणाली तथा अन्य उपकरणहरू बिग्रिने क्रम बढेको संघको भनाइ छ। यसबाट उद्योगीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको र मर्मतसम्भारमा अतिरिक्त खर्च गर्न बाध्य भएको जनाइएको छ।
विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक उद्योगमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत अवरुद्ध हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ नष्ट हुने, डढ्ने तथा करोडौं रुपैयाँ बराबरको उत्पादन खेर जाने अवस्था सिर्जना भएको संघले जनाएको छ।
संघका अनुसार अनियमित विद्युत आपूर्तिका कारण उद्योगमा कार्यरत हजारौं श्रमिक कामविहीन भएर बस्नुपर्ने अवस्था आएको छ। उत्पादन बन्द भए पनि उद्योगले श्रमिकको पारिश्रमिक तथा अन्य सञ्चालन खर्च व्यहोर्नुपरेकाले लागत बढ्दै गएको र नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको उल्लेख गरिएको छ।
समयमै उत्पादन हुन नसक्दा बजारमा वस्तुको अभाव हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगको विश्वसनीयतामा असर पर्ने तथा आयातित वस्तुले बजार ओगट्ने जोखिम समेत बढेको संघको भनाइ छ। संघले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्रलाई बिना पूर्वसूचना अन्धकारमा राख्नु र उद्योगीका समस्याप्रति बेवास्ता गर्नु अत्यन्तै विडम्बनापूर्ण भएको जनाएको छ।
मोरङ उद्योग व्यापार संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्या तत्काल अन्त्य गर्न माग गरेको छ।
साथै, प्राविधिक कारणले विद्युत आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएमा सम्बन्धित उद्योग तथा संघलाई पूर्वसूचना उपलब्ध गराउन र स्वदेशी उद्योगको संरक्षणमा गम्भीर हुन आग्रह गरेको छ।