काठमाडौं। वर्षौंदेखि सरकारी जग्गा तथा संरचना प्रयोग गरेर पनि भाडा नतिर्ने उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कडाइ गरेपछि बक्यौता रकम धमाधम असुल हुन थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योगहरूलाई सात दिनभित्र सम्पूर्ण बक्यौता भाडा चुक्ता गर्न निर्देशन दिँदै अन्यथा विद्युत् र खानेपानीको लाइन काटिने चेतावनी दिएकी थिइन्। उक्त निर्देशनपछि कारबाहीबाट बच्न उद्योगीहरूले बक्यौता तिर्न थालेका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता असुल भएको छ। यससँगै हालसम्म सरकारको खातामा ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा जम्मा भएको छ।
बक्यौता चुक्ता गरेपछि हिजो र आज गरी थप पाँच उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको मन्त्रालयले जनाएको छ। यद्यपि, अझै पनि २१ उद्योगले बक्यौता नतिरेका कारण उनीहरूको विद्युत् आपूर्ति बन्द नै रहेको छ।
यसैबीच, सबैभन्दा बढी बक्यौता रहेका दुई कम्पनीले भने अझै सरकारी निर्देशन पालना नगरेको मन्त्रालयले जनाएको छ। कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा (जरिवाना बाहेक) तिर्न बाँकी रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
यी दुवै कम्पनीले बक्यौता नतिरी सरकारी गोदाम सञ्चालन गरिरहेको पाइएको भन्दै मन्त्रालयले थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार सम्बन्धित निकायसँग परामर्श गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।