काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन शुक्रबार नेपाल धितोपत्र बजार (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनसम्म सामान्य अंकमा मात्र सीमित रहेको सूचकांक यस दिन भने उल्लेखनीय रूपमा बढ्दै ७९.७४ अंकले वृद्धि भई २६७७.५४ विन्दुमा पुगेको छ। नेप्सेसँगै अन्य सूचकांकहरूमा पनि सकारात्मक प्रभाव देखिएको छ, जसअन्तर्गत सेन्सेटिभ इण्डेक्स ११.५१ अंक, फ्लोट इण्डेक्स ५.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१३ अंकले बढेको छ।
सूचकांक उच्च अंकले बढेपनि यस दिन कारोबार रकममा भने त्यति ठूलो उछाल देखिएको छैन। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार बजारमा ४ अर्ब ५६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा, शुक्रबार भने ३३५ कम्पनीको शेयर ५८ हजार ९४ पटक कारोबार हुँदै ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य १२५ रुपैयाँ ७० पैसाले बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार सम्पन्न भएको हो। त्यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १५ प्रतिशत र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य साढे १२ प्रतिशतले बढेको छ भने यसको ठीक विपरीत कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सबैभन्दा बढी अर्थात् १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हेर्ने हो भने यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको २२ करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको र रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बजारका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक यस दिन बढेको छ भने एउटा मात्र उपसमूहको परिसूचक घटेको छ। यसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशतले बढेको छ भने लगानी र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी र वित्त तथा होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यसको ठीक विपरीत, म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।