काठमाडौं। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको वृद्धिदर यस वर्षको दोस्रो त्रैमासमा सरकारले तोकेको लक्ष्यभन्दा तल झरेको छ। साथै, वर्षौंदेखि विश्व बजारमा हालीमुहाली गर्दै आएको चिनियाँ व्यापार बचत पनि खुम्चिन थालेको तथ्यांकले देखाएको छ।
जुलाई १५ मा सार्वजनिक भएको आधिकारिक तथ्यांकअनुसार चीनको अर्थतन्त्र दोस्रो त्रैमासमा वार्षिक ४.३ प्रतिशतले मात्र बढेको छ। यो सरकारले तोकेको ४.५–५ प्रतिशतको लक्ष्यभन्दा कम मात्र होइन, सन् २०२२ यता अर्थात् कोभिड–१९ का कारण सहरहरूमा लकडाउन लगाइएको समयदेखिकै सबैभन्दा कमजोर वृद्धिदर पनि हो।
गत वर्ष सरकारले ५ प्रतिशत वृद्धिदरको लक्ष्य राखेको थियो र १९ ट्रिलियन डलर बराबरको अर्थतन्त्र ठ्याक्कै त्यही दरले बढेको थियो। यस वर्ष भने सरकारले ४.५–५ प्रतिशतको दायरा तोकेको थियो।
व्यापार बचतमा गिरावट
गत वर्ष चीनको व्यापार बचत १.२ ट्रिलियन डलरभन्दा बढी पुगेको थियो। जुन महिनामा मात्रै वस्तु निर्यात डलर मूल्यमा एक चौथाइभन्दा बढीले बढेको थियो। यसैलाई हेरेर युरोपेली संघलगायत चीनका व्यापार साझेदार देशहरू सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशपछि आएको जस्तै अर्को ठूलो "चाइना सक"को त्रासमा तयारी गरिरहेका छन्।
तर तथ्यांकलाई नजिकबाट नियाल्दा फरक कथा देखिन्छ। विश्लेषण संस्था एब्सोल्युट स्ट्र्याटेजी रिसर्चका विश्लेषक एडम वोल्फका अनुसार चीनको व्यापार बचतले उच्च बिन्दु पार गरिसकेको छ। जुन महिनामा आयात निर्यातभन्दा छिटो गतिमा, ३६ प्रतिशतले बढेको थियो। सन् २०२६ को पहिलो अर्धवार्षिकमा चीनको व्यापार बचत गत वर्षको सोही अवधिको तुलनामा डलर मूल्यमा घटेको छ।
विश्लेषकहरूका अनुसार यसमा इरान युद्धका कारण बढेको तेल मूल्यभन्दा बढी योगदान अर्धचालक (सेमिकन्डक्टर)को मूल्यवृद्धिले गरेको छ। मे महिनामा एकीकृत सर्किटको आयात मूल्यमा झण्डै ७० प्रतिशतले बढेको थियो, जुन पूर्णतः मूल्यवृद्धिकै कारण थियो।
धेरै विश्लेषकहरूले चीनको निर्यातमाथिको अत्यधिक निर्भरता कम गर्न सरकारले वित्तीय प्रोत्साहन प्याकेज ल्याउने आशा गरेका थिए। सिटी ग्रुप बैंकका अर्थशास्त्रीहरूका भनाइमा चिनियाँ सरकार खर्च बढाइरहँदा पनि राजस्व संकलन झन् बढी गरिरहेको छ, जसलाई उनीहरूले "वास्तविक कटौती" भनेका छन्।
जनवरीदेखि मेसम्मको अवधिमा सरकारले गत वर्षको तुलनामा मूल्य अभिवृद्धि कर ६.२ प्रतिशत र व्यक्तिगत आयकर १२.२ प्रतिशतले बढी उठाएको छ। सेयर बजारमा भएको सक्रिय कारोबारका कारण स्ट्याम्प डिउटी संकलन पनि ८९ प्रतिशतले उछालिएको छ।
यसमा मुद्रास्फीति फर्किनुको साथै कर प्रशासनले लागू गरेको कडाइ पनि जिम्मेवार छ। गत वर्षदेखि करदाताहरूलाई सन् २०२२ यताको विदेशी आम्दानी र सम्पत्ति खुलाउन स्वचालित सन्देश पठाइने गरिएको छ। नतिजास्वरूप केन्द्रीय र स्थानीय सरकार दुवैको संयुक्त बजेट घाटा गत १२ महिनामा साँघुरिएको छ, जुन कमजोर अर्थतन्त्रलाई चाहिने प्रोत्साहन नीतिको ठीक विपरीत हो।
चीनका राष्ट्रपति सी जिनपिङले उच्च-प्रविधि उत्पादनलाई प्राथमिकता दिँदै व्यवसायी र स्थानीय अधिकारीहरूलाई "नयाँ उत्पादक शक्ति" विकास गर्न आह्वान गर्दै आएका छन्। साथै उनले विगतमा "कल्याणकारीवाद" ले जनतालाई अल्छी बनाउने चेतावनी पनि दिएका थिए।
तर सिटीग्रुपका अर्थशास्त्रीहरूका अनुसार सरकारी खर्चको वास्तविक प्राथमिकता प्रविधि वा शिक्षाभन्दा बढी सामाजिक सुरक्षा (पेन्सन, बेरोजगारी बिमा, गरिबी निवारण भत्ता र रोजगारी सिर्जना कार्यक्रम) तर्फ गइरहेको छ। मुख्य बजेटमा यी क्षेत्रको हिस्सा विगतका वर्षहरूमा बढ्दै गएको छ, जबकि प्रविधि र शिक्षामा जाने हिस्सा लगभग स्थिर छ र पूर्वाधार क्षेत्रमा जाने हिस्सा घटेको छ।
यी तथ्यांकले चीनका सरकारी स्वामित्वका उद्यम र छुट्टै विशेष सरकारी कोषहरूलाई भने समेट्दैनन्, त्यसैले यसले पूरा तस्बिर देखाउँदैन। कमजोर अर्थतन्त्र र बढ्दो वृद्ध जनसंख्या भएको समाजमा नेतृत्वको प्राथमिकता जेसुकै भए पनि वृद्धवृद्धा, बेरोजगार र गरिबका मागहरूले आफ्नो उपस्थिति जनाइरहन्छन्।
चिनियाँ प्रविधि क्षेत्र अझै तातो र गतिशील देखिए पनि, समग्र अर्थतन्त्र भने बिस्तारै चिसिँदै गएको छ। र यसको जनसंख्या दिनप्रतिदिन बढी बुढ्यौली हुँदै गइरहेको छ।