काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे छानबिनपछि बालमन्दिर जग्गा ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगी कसुरमा मुद्दा दायर भएको हो। उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको सीआईबी प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराले बताए।त्यसपछि सीआईबीले यसको अनुसन्धान अघि बढाएर मुद्दा चलाएको हो।
नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरीकुमारी राईविरुद्ध मुद्दा दायर भएको हो।
यस्तै, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दायर भएको छ।
प्रतिवादी बनाइएका ८ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन्। बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।
उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । गत चैतमा मात्रै यो प्रतिवेदन कार्यान्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो।