काठमाडौं। परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा पुग्छ। त्यसको एक मिनेट नबित्दै विद्यार्थीहरू ‘सर, सोलुसन पनि पठाइदिनुस्’ भन्दै अनुरोध गर्न थाल्छन्।
केहीबेरमै प्रश्नका उत्तरसमेत ग्रुपमा आउँछन्। त्यसपछि विद्यार्थीहरू निर्धक्क लेख्छन्, ‘अब इकोको परीक्षा पनि ढिलो गए हुन्छ सर, यसरी नै प्रश्न हालिदिनुहोला।’
यो कुनै अफवाह वा सामाजिक सञ्जालमा फैलिएको अपुष्ट दाबी होइन। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र बाहिरिएको घटनासँग जोडिएका ह्वाट्सएप संवाद र त्यसपछिका सरकारी कारबाहीले नेपालको उच्च शिक्षा प्रणालीको परीक्षा सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटमै ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नामक एक हजार २३ सदस्य रहेको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पुगेको देखिएको छ। ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएपछि विद्यार्थीहरूबीच खुला रूपमा छलफल सुरु भएको थियो। प्रश्नपत्र मात्र होइन, त्यसका उत्तरसमेत क्रमशः ग्रुपमा पठाइएको स्क्रिनसट सार्वजनिक भएका छन्।
सार्वजनिक संवादअनुसार विद्यार्थीहरूले ‘सोलुसन’ मागेपछि ‘हस्’ भन्दै उत्तर पठाउने आश्वासन दिइएको थियो। केही समयपछि प्रश्नका उत्तर भएका फोटोहरू ग्रुपमा पठाइएका थिए।
त्यसपछि विद्यार्थीहरूले ‘आज पनि तपाईंले भन्नुभएकै आयो’, ‘९५ नम्बर गरेँ’, ‘इकोको पनि यसरी नै हालिदिनुहोला’ जस्ता सन्देश पठाएको देखिन्छ। यिनले प्रश्नपत्र बाहिरिनु आकस्मिक नभई योजनाबद्ध रूपमा भइरहेको आशंका बलियो बनाएको छ।
प्रकरण सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले तत्काल साइबर ब्युरोलाई पत्राचार गर्दै घटनाको अनुसन्धान गरी संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्र पहिचान गरेर कानुनी कारबाही गर्न आग्रह गरेको थियो।
शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षकसँग छलफल गरी दोषीलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।
लगत्तै परीक्षा नियन्त्रण महाशाखाले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
घटनाले व्यापक चर्चा पाएपछि शिक्षा मन्त्रालय पनि सक्रिय भयो। शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षकसँग छलफल गरी दोषीलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।
प्रहरीले आइतबार बिहान ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुवै जनामाथि डिजिटल प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गरिएको देखिएको प्रहरीको भनाइ छ।
यो घटनाले एउटा प्रश्नलाई झन् गम्भीर बनाएको छ- यदि परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र र त्यसका उत्तर विद्यार्थीको मोबाइलमा पुग्न सक्छ भने विश्वविद्यालयको परीक्षा प्रणाली कति सुरक्षित छ?, प्रश्नपत्र कसरी बाहिरियो?, कुन तहबाट चुहावट भयो? र यसमा कसको संलग्नता छ? भन्ने विषय अब छानबिनको केन्द्रमा छ।
शिक्षाविद्हरूका अनुसार प्रश्नपत्र चुहावटले केही विद्यार्थीलाई अनुचित लाभ दिने मात्र होइन, इमानदार परीक्षार्थीको मेहनतमाथि अन्याय गर्नुका साथै विश्वविद्यालयको विश्वसनीयतामै गम्भीर आघात पुर्याउँछ।
त्यसैले दोषी पहिचान गरी कानुनी कारबाही गर्नुका साथै प्रश्नपत्र सुरक्षा प्रणालीको पुनरावलोकन गर्नुपर्ने आवश्यकता यस घटनाले औँल्याएको छ।