काठमाडौं। करिब सात वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि अर्थात भोलिदेखि सञ्चालनमा आउँदै छ।
नेपालकै पहिलो आधुनिक सवारी सुरुङमार्गका रूपमा निर्माण भएको यो आयोजना नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। निर्माण सम्पन्न भएसँगै आयोजना सञ्चालनमा आउन लागे पनि यसबीच एउटा विषयले चर्चा पाएको छ। आयोजना स्थलमा राखिएको नयाँ शिलालेखबाट शिलान्यासकर्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको छ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुंगामा वर्षौंदेखि हुने ट्राफिक जाम, जोखिमपूर्ण घुम्ती सडक र लामो यात्रा समयको दीर्घकालीन समाधानका रूपमा यो आयोजना अघि बढाइएको हो।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, जग्गा अधिग्रहण, मुआब्जा विवाद, कोभिड १९ महामारी, प्राविधिक चुनौती र निर्माण व्यवस्थापनका कारण आयोजना करिब तीन वर्ष ढिलो सम्पन्न भएको हो।
नागढुंगा सुरुङमार्ग: एक दशकको यात्रा
२०१५: अवधारणाले गति लियो
सन् २०१५ मा जाइकाले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्यो। अध्ययनले सुरुङमार्ग आर्थिक, प्राविधिक तथा वातावरणीय रूपमा उपयुक्त रहेको निष्कर्ष निकाल्यो।
२०१६: नेपाल-जापान ऋण सम्झौता
नेपाल सरकार र जापान सरकारबीच सहुलियतपूर्ण ऋण सहायता सम्झौता सम्पन्न भयो। आयोजनाका लागि जाइकामार्फत करिब १६ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराइएको थियो।
२०१७-२०१९: तयारी र प्रक्रिया
यस अवधिमा विस्तृत डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा ठेक्का प्रक्रिया सम्पन्न गरियो। स्थानीय स्तरमा देखिएका केही विवादका कारण प्रारम्भिक चरणमै आयोजना प्रभावित भएको थियो।
२३ सेप्टेम्बर २०१९: निर्माण सम्झौता
जापानको हजमा एन्डो कर्पोरेशनसँग निर्माण सम्झौता सम्पन्न भयो। कम्पनीले मुख्य सुरुङ, उद्धार सुरुङ, पहुँच सडक तथा सम्बन्धित संरचनाको निर्माण जिम्मेवारी पायो।
२१ अक्टोबर २०१९: शिलान्यास
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरे। निर्माण अवधि ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
डिसेम्बर २०१९: निर्माण सुरु
मुख्य सुरुङ, उद्धार सुरुङ, पहुँच सडक, पुल तथा फ्लाइओभर निर्माणको काम औपचारिक रूपमा सुरु भयो।
२०२०-२०२२: कोभिडले रोकेको गति
विश्वव्यापी कोभिड-१९ महामारीका कारण जापानी प्राविधिक नेपाल आउन सकेनन्। निर्माण सामग्री आपूर्ति र श्रमिक व्यवस्थापन प्रभावित हुँदा आयोजनाको प्रगति उल्लेखनीय रूपमा सुस्त बन्यो।
२०२३: मुख्य सुरुङ जोडियो
दुवैतर्फबाट सुरुङ खन्ने काम सम्पन्न भई ‘टनल ब्रेकथ्रु’ हासिल। यससँगै आयोजना अन्तिम निर्माण चरणमा प्रवेश गर्यो।
२०२४-२०२६: परीक्षण र अन्तिम तयारी
भेन्टिलेसन प्रणाली, अग्नी सुरक्षा प्रणाली, सीसीटीभी, सञ्चार प्रणाली, विद्युत्, ट्राफिक नियन्त्रण उपकरण तथा अन्य सुरक्षा पूर्वाधार जडान गरियो। त्यसपछि विभिन्न चरणमा परीक्षण सञ्चालन सम्पन्न गरियो।
२८ जुलाई २०२६: सञ्चालनमा
करिब सात वर्षको निर्माण यात्रापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग नियमित सवारी आवागमनका लागि सञ्चालनमा आउँदै छ।
'फ्याक्ट फाइल'
आयोजनाको नाम: नागढुंगा-स्नेखोला सुरुङमार्ग
मुख्य सुरुङ: २.६८ किलोमिटर
उद्धार सुरुङ: २.५६ किलोमिटर
पहुँच सडक: करिब २.६ किलोमिटर
कुल आयोजना लम्बाइ: करिब ५.५६ किलोमिटर
निर्माण कम्पनी: हजमा एन्डो कर्पोरेशन (जापान)
वित्तीय सहयोग: जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)
अनुमानित लागत: करिब २२ अर्ब रुपैयाँ
सहुलियत ऋण: करिब १६ अर्ब रुपैयाँ
कार्यान्वयन निकाय: सडक विभाग
किन महत्वपूर्ण?
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा हुने ट्राफिक जाम न्यूनीकरण गर्न साथै नागढुंगाको जोखिमपूर्ण घुम्ती सडकको सुरक्षित विकल्पका रुपमा विस्ता गर्न सुरुङमार्ग महत्वपूर्ण रहेको छ।
योसँगै काठमाडौं-नौबिसेबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने भएको छ। यसबाट इन्धन खपत तथा ढुवानी लागत कम हुने तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुनेछ। योसँगै नेपालमा आधुनिक सुरुङमार्ग पूर्वाधार विकासको नयाँ युग सुरु हुनेछ।