काठमाडौं। सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश सूचक सकारात्मक रहेका छन्। बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।
बैंकले गत आव अन्त्यसम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ५७ करोडको तुलनामा ३८.०१ प्रतिशत बढी रहेको छ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९६ करोड पुगेको छ। गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष १ अर्ब १९ करोड थियो।
बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ।
समीक्षा अवधिमा बैंकको लाभांश दिने क्षमता पनि बढेको छ।असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ कायम छ। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ कायम भएको छ।
चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब पुगेको वित्तीय विवरणमा उल्लेख छ। कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब पुगेको छ भने कुल सम्पत्तिको आकार बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशत, खुद निष्क्रिय कर्जा १.०२ प्रतिशत रहेको छ।