काठमाडौं । बागमति प्रदेशको राजधानी हेटौडामा भाटभटेनी सुपरमार्केटको २० औं शाखा खुल्ने भएको छ । सिभिल संरचना सहित करिब १ अर्ब ७५ करोड लगानीमा निर्माण सुरु भएको सो भाटभटेनी सुपरमार्केट २०७८ को बैशाखदेखि सञ्चालनमा आउने भएको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले हेटौंडामा राजधानी बनेसँगै बढ्दो चहलपहललाई लक्षित गरी २० औं शाखा सञ्चालनमा ल्याउन लागिएको बताए । आठ कठ्ठा १२ धुरमा निर्माण हुन लागेको भाटभटेनी २ तला अण्डरग्राउण्ड सहित ८ तलाको हुने छ ।

सिभिल संरचना निर्माणको जिम्मा स्पार्क कन्ट्रक्सनले लिएको छ । सिभिल संचना मात्र करिब ३५ करोड लागतमा निर्माण सुरु भएको चिफ इन्जिनियर सूवर्ण डंगोलले जानकारी दिए । आठ तलाको सुपरमार्केटमा २ तला अण्डरग्राउण्ड रहने छ भने चौथो र पाँचौ तलामा मल्टिप्लेक्स हल हुने छ ।
बाँकी ४ वटा स्टोरमा खाद्यन्न, इलेक्ट्रिकल, लत्ताकपडा, भाडाकुडासहित बच्चाहरुको खेलाउनाहरु समेत रहने भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । ती स्टोरमा करिब ३५ करोड बराबरको सामग्रीहरु राखिने छ ।
सुपरमार्केटको एक तलामा ११ हजार ५ सय स्क्वायर फिटको रहने छ । ८ वटा इलेक्ट्रिकल भर्याङ, एउटा लिफ्ट, सेन्ट्रल एसी हुन्छ । हेटौंको चौकिटोलमा निर्माण सुरु भएको सो सुपरमार्केटमा १४ हजार स्क्वायर फिटको अन्डर ग्राउण्ड हुने छ । अन्डर ग्राउण्डको दुई तलामा गरी ६५ वटा गाडी पार्किङ गर्न सकिन्छ भने चौथो र पाचौंमा दुई वटा मल्टिप्लेक्स सिनेमा हल रहने बताइएको छ ।

भाटभटेनीको काठमाडौं उपत्यकाभित्र ११ वटा सुपरमार्केट सञ्चालनमा ल्याएको छ भने देशको अन्य सात सहरमा समेत सेवा विस्तार गरेको छ ।