काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानी गर्ने कर्जाको न्युनतम ब्याजदर तोकेको छ । कोषको हालै बसेको सञ्चालक समिति बैठकले पहिलो पटक कर्जाको ब्याजदर न्युनतम १०.५ प्रतिशत गर्ने निर्णय गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थासंग सहवित्तीयकरण अन्र्तगत गर्ने कर्जा लगानी गर्दा न्युनतम १०.५ प्रतिशत ब्याजदर कायम गरिएको कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए । उनले यो दर भन्दा कम ब्याजमा कर्जा लगानी नगर्ने स्पष्टपारे ।
कोष आफैले दिने कर्जाको ब्याजदर न्युनतम १०.७५ प्रतिशत कायम गरिएको उनले सुनाए । ‘हालसम्म कोषले न्युनतम ब्याजदर तोकेको थिएन यो वर्षदेखि निर्धारण गरेका छौ’ उनले क्यापिटल नेपालसंग भने ‘आधार दर तय गरेकाले कुर अघि बढाउन सहज भएको छ ।’ पहिला कति प्रतिशतबाट ब्याजदर सुरु गर्ने भन्नेमा अन्यौलता रहेकोमा अब समधान भएको गौतमले बताए ।
कोषले लगानी गर्ने सिमेन्ट, जलविद्युतलगायत अन्य उद्योगमा लगानीका लागि आधार दर तय गरेको छ । कोषले होङसी शिवम सिमेन्टमा २ अर्ब रुपैयाँ लगानी गर्दै छ । एनएमबी बैङ्कको सहवित्तीयकरणमा कोषले लगानी गर्न लागेको हो । होङ्सीमा पनि न्युनतम ब्याजदर १०.५ प्रतिशत हुने उनले जानकारी दिए ।
सहवित्तीयकरणमा लगानी गर्दा जोखिम कम हुने भएकाले ब्याजदर कम निर्धारण गरिएको गौतमले बताए । कोष एक्लैले गर्ने लगानीमा जोखिम बढी हुने भएकाले कही बढी रहेको उनको भनाई छ ।
कोषले आफनो ऋण लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनाको ब्याजदर घटाएर १०.७५ प्रतिशत कायम गरेको छ । सञ्चय कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ब्याजदर घटेको छ ।
५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन । ब्याजदर कम भएपछि आयोजनाको लागत कम हुने छ ।