काठमाडौ । बैङ्क तथा वित्तीय संस्थाहरुको डुब्न लागेको अर्बौ रुपैयाँको खराब ऋण उठेको छ । ऋण असुली न्यायधिकरणले बैङ्कहरुको डुब्न लागेको मध्ये १९ अर्ब ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाइदिएको हो ।
ऋण असुली न्यायाधिकरणले गत आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म बैङ्कहरुले उठाउन नसकेको ऋण असुल उपर गरेको सूचना अधिकारी भेषराज कोइरालाले बताए ।
गत आर्थिक वर्ष २०७५/०६७ को असारसम्म एक वर्षको अवधिमा ६ करोड ३६ लाख रुपैयाँ खराब ऋण असुल गरेको उनले जानकारी दिए । त्यस्तै, मिलापत्रबाट असार मसान्तसम्म ८६ लाख ७२ हजार २९ रुपैयाँ असुल भएको छ । यस अवधिमा न्यायाधिकरणमा जम्मा ४०९ ओटा मुद्दा परेका छन् ।
प्रवक्ता कोइलाका अनुसार बैङ्कहरुले ऋण दिँदा सामान्य धितो राखेका कारण मुद्दाको फैसला भए पनि ऋण उठाउन भने समस्या पर्ने गरेको बताए ।
बैङ्क तथा वित्तीय संस्थाहरुले आपसी मिलेमतोमा कमसल धितोमा कर्जा प्रवाह गर्ने प्रवृत्तिका कारण बैङ्कहरुको ऋण डुब्ने क्रम बढेको ठहर न्यायाधिकरणको छ । त्यस्तो ऋण असुल उपर गर्न नसकेपछि बैङ्क तथा वित्तीय संस्थाले ऋण असुली न्यायाधीकरणलाई गुहार्ने गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्था ऋण असुली ऐनअनुसार वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीबाट ऋणीले लगेको ५ लाख रुपैयाँभन्दा बढी रकम उठ्न नसकेमा न्यायाधिकरणमा मुद्दा हाल्ने गरेका छन् ।
भाका नाघेको अवधिले ३ वर्षभित्र त्यस्ता ऋणीबाट कर्जा नउठेको रकम असुली गर्न न्यायाधिकरणमा मुद्दा हाल्नु पर्ने ऐनमा उल्लेख छ ।