×

विष्णु पौडेलमाथि मीनेन्द्र रिजालको कटाक्षः मान्नुस् आर्थिक वृद्धि ८ प्रतिशत पुग्नेछ

images

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको मूल दिशा ठीक छ । यो अवस्थामा पृथक ढंगको बजेट आउन सक्ने अवस्था थिएन । जस्तो आउनुपर्ने थियो त्यही नै बजेट आएको छ । प्राथमिकताहरुलाई समातेर बजेट ल्याउनु भएकोमा म अर्थमन्त्री शर्मालाई धन्यवाद दिन्छु । तथापि मलाई पनि बजेटका विषयमा केही टिप्पणी गर्न मन थियो । तर, मभन्दा अघिका वक्ता पूर्वअर्थमन्त्री विष्णु पौडेलले बोलेपछि त्यसको कुनै बाँकी रहेनजस्तो लाग्छ । 

यद्यपि मेरा मनमा तरङ उठिरहेको छ । पोहर साल उहाँले बजेटको विवरण संसद् बाहिर प्रस्तुत गर्दा आज बोलेको कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यस बेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुन्छ भन्नुभयो । मुलुक कोभिड महामारीले थलिएको थियो ।

त्यस बेला कोरोना विरुद्धको खोप पनि लगाउन सुरु भएको थिएन । आज ८ प्रतिशत आर्थिक वृद्धिको कुरा आएपछि उहाँ छक्क पर्नुभयो । ६.५ प्रतिशतले मुद्रास्फीति हुन्छ भन्नुभएको थियो । आजको बजेटले ७ प्रतिशत हुन्छभन्दा उहाँले त्यतिले मात्र पुग्दैन भन्नु हुन्छ । म यति मात्र भन्छु भूमिका बदलियो भन्दैमा आफूले राख्ने कुरा आकाश जमिनको फरक पनि हुनुहुँदैन ।

चालू खर्च २१.७, पुँजीगत २६.७ र वित्तीय व्यवस्थापन ३२.२ प्रतिशतले भएको छ । उहाँले राजस्वको वृद्धि कम राख्नुभएको थियो । गरिबी निवारण हुन्न भन्नुभयो । अर्थतन्त्रको संरचनाका बारेमा म उहाँलाई बताइराख्न चाहन्न । आन्तरिक ऋण बढेको अवस्था छ । त्यो ऋण पनि विरासतमा प्राप्त भएको हो । ऋण र वित्तीय व्यवस्थापनका लागि चाहिने खर्च हामी आफैंले सिर्जना गर्न सकेनौं । पछाडि फर्केर हेर्ने हो भने अघिल्लो सरकार निर्वाचित भएर आउँदा वैदेशिक र आन्तरिक ऋणको अवस्था के थियो ? र, तपाईंहरुले छाड्ने बेलामा कहाँ पुग्यो ? ठन्डा दिमागले हेर्नुभयो भने ऋण बढेको जिम्मा तपाईंले हामीलाई लाउन सक्नु हुन्न नि ! अब सार्वजनिक ऋण वृद्धिको करा भनी हाले, सार्वजनिक खर्च र पुँजीगत खर्च बढेपछि वित्तीय व्यवस्थापन यी सबै स्वाभाविक हुन् । चालू खाता घाटा र व्यापार घाटा बढ्ने क्रममा छ ।

यस्तै वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढेको छ । रेमिट्यान्स घट्ने क्रम र चालू खाता घाटा आर्थिक वर्षको ९ महिनादेखि सुरु भएको हो र ? यी कुरा जस्ताको त्यस्तै विरासतमा प्राप्त भएको छ । अर्थतन्त्रको चुनौतिलाई को सत्तामा छ र छैन भन्ने कुराले परिवर्तन हुँदैन । यसकारण गम्भीर छलफल गर्न हामी जहिले पनि तयार हुनुपर्छ ।

कोभिडपछि लयमा फर्किंदै गएको अर्थतन्त्रमा आयात बढ्नु स्वाभाविक हो । उद्योग व्यवसायलाई कच्चावस्तु चाहिन्छ । त्यसका लागि आयात गर्नुपर्ने हुन्छ । यस्तै आम नागरिकको उपभोगको संरचनालाई पनि आयात चाहिन्छ । अर्थतन्त्रमा दबाब विस्तारित छ । यो स्वाभाविक ट्रेन्ड हो र केही महिनाभित्र यो आफैं करेक्सन हुँदै छ । यो सामान्य अर्थशास्त्रका विद्यार्थीले समेत जान्ने कुरा हो । 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ३ वटा बजेट संसद्मा प्रस्तुत गर्नुभयो । भूमिका बदलिएसँगै हामी व्यवसायिक र बौद्धिक विचार बदलिन सक्दैन । तर, आवरण चाहिँ बदलिन सक्छ । भूमिका जसरी बदलिन्छ टिप्पणी पनि त्यसरी नै बदलिएको छ । भूमिका बदलिएपछि छलाङ मारेर आफ्ना टिप्पणी राख्ने बाटोलाई छाडौं । यस्ता टिप्पणीबाट अर्थतन्त्रको संरचना बदलिन्छ न त विचार नै । न कार्यान्वय गर्ने क्षमता र नत परिवर्तन नै आउँछ ।

यस्तै उहाँले प्राथमिकी करणमा डिफ्युज छ भन्नुभयो यो अघिल्लो सरकारको विरासतबाट यो सरकारलाई प्राप्त भएको हैन र ? कुन बजेट पढ्ने म चुनौतीका साथ भन्छु तपाईंले ल्याएको कुन बजेटमा प्राथमिकीकरण स्पष्ट थियो ? रेल पनि आयो र पानी जाहाज पनि आयो बढो खुशी छु भने जस्तो गर्नुभयो । प्राथमिकता हुनुहुँदैन भन्ने यहाँको सोच पक्कै हैन होला । वृद्धभत्ता ७० बाट ६८ वर्षमा झार्दा ५ हजार रुपैयाँ किन भएन भन्नुभयो ? सरकार त फेरियो नि ! तपाईंको घोषणा कसरी आउँछ ? त्यो पनि बिर्सिदिनु भयो कि ? बजेटले कृषि क्षेत्रमा आयात प्रतिस्थापन गर्नका लागि मूलतः उद्योग क्षेत्रको विकासका लागि जुन बाटो समातेको छ त्यो सही छ । कर्मचारीको तलववृद्धि भयो यसमा खुसी व्यक्त गर्नुभन्दा अर्को विकल्प छैन । उद्योग क्षेत्रका लागि सरकारकारले सही बाटो समाएको छ ।

सार्वजनिक निजी साझेदारी नवप्रर्वद्धनमा राम्रा कुरा आएका छन् । यसको सबैले प्रसंशा गर्नुपर्छ । कर छुटले निश्चित रूपमा अर्थतन्त्रलाई चलायमान बनाउने छ । कोभिडपछि सामान्य अवस्थामा फर्किंदै गरेको अर्थतन्त्रले ८ प्रतिशत वृद्धिमा सघाउ पुर्याउने छ । मान्नुस् यो वर्ष आर्थिक वृद्धि ८ प्रतिशत पुग्नेछ । नवीकरणीय ऊर्जा, प्रसारण लाइन निर्माण, जलासययुक्त आयोजना बनाएर बिजुली उत्पादन बढाउने, उत्पादन बढाउन नयाँ संरचनाको खोजीले आर्थिक वृद्धि हुन्छ । यसमा लक्ष्य प्राप्ति हुन्छ । दीर्घरोगीका लागि सरकारले सुविधा दिएको छ यो ठीक छ । पर्यटन र पूर्वाधार निर्माणका लागि बजेटले बाटो लिन्छ भन्ने मलाई लागेको छ । विदेशी लगानी र स्वदेशी लगानीको बाटो बजेटले खोजी गरेको छ । 

बजेट निर्वाचनमुखी छ दीर्घकालीन प्रभाव हुनु भएन भनेर भन्नुभयो म यति भन्छु २०७८ जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन गरियो माननिय विष्णु पौडेलले प्रतिनिधिसभा भन्दा बाहिर गएर बजेट प्रस्तुत गर्नुभयो । निर्वाचनको घोषणा गरेपछि तपाईंले ल्याएको बजेट पढ्नुस् त । तपाईंले ल्याएको बजेट र अहिलेको बजेटलाई तुलना गर्नुहोस् । अहिले प्रतिनिधिसभा छ । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाले पारित गर्ने हो । तपाईंले संसद् छलेर प्रतिनिधिसभा विघटन गरेर बजेट भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने अवस्थासँग यो बजेटलाई तुलना गर्नु उचित भएन । तपाईंले निर्वाचनको घोषणा गरेर निर्वाचनलाई प्रभावित गर्ने खालका जे–जे भाषाहरु प्रयोग गर्नुभयो थियो । अहिलेको बजेटमा त्यो भन्दा निकै कम भाषाको प्रयोग भएको छ । 

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ३ वटा बजेट संसद्मा प्रस्तुत गर्नुभयो । भूमिका बदलिएसँगै हामी व्यवसायिक र बौद्धिक विचार बदलिन सक्दैन । तर, आवरण चाहिँ बदलिन सक्छ । भूमिका जसरी बदलिन्छ टिप्पणी पनि त्यसरी नै बदलिएको छ । भूमिका बदलिएपछि छलाङ मारेर आफ्ना टिप्पणी राख्ने बाटोलाई छाडौं । यस्ता टिप्पणीबाट अर्थतन्त्रको संरचना बदलिन्छ न त विचार नै । न कार्यान्वय गर्ने क्षमता र नत परिवर्तन नै आउँछ । यो बजेटको मैले धेरै प्रतिरक्षा गर्नुपर्ने आवश्यकता छैन । बजेटको प्रतिरक्षा मैले बाहिर बसेर गरेको थिए तर उहाँले आज संसदमा बसेर गर्नुभएको छ । यसमा म खुसी छु ।

हामीले पाइला निर्माण गरी हजारौं माइलको यात्रा सुरु गरौं । हिजो आफू हुँदा के गर्यौं आज के भएन भन्ने कुरा नगरौं । देशलाई औद्योगिकीकरणको पाइलामा गएर आयात प्रतिस्थापन गर्न सकिन्छ त्यसतर्फ छलफल गरौं ।   

पूर्वमन्त्री रिजालले पाैडेलले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८०काे बजेटमाथि राखेकाे धारणा । 
   


 

मङ्गलबार १७ जेठ २०७९ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया