काठमाडौं,। नेपालको जुत्ता उद्योगमा पाँच दशकदेखि स्थापित ब्राण्डको रूपमा रहेको किरण सु मेन्युफ्याक्चरर्स प्राइभेट लिमिटेडले कार्यशील पूँजी व्यवस्थापनको गम्भीर चुनौती र कम क्षमता उपयोगको समस्याका कारण मध्यम स्तरको ऋण जोखिममा रहेको पाइएकाे छ।
सार्वजनिक मूल्याङ्कन प्रतिवेदनमा 'गोल्डस्टार' ब्राण्डका जुत्ता उत्पादन गर्ने यस कम्पनीलाई लामो व्यावसायिक अनुभव र बलियो ब्राण्ड उपस्थिति भए पनि परिचालन दक्षताको कमजोरीले ऋण जोखिममा राखेको निष्कर्ष निकालिएको छ। कम्पनीको रु. ४ अर्ब बराबरका बैंक सुविधाहरूलाई 'आईआरएन बीबी माइनस'को दीर्घकालीन रेटिङ दिइएको छ।
४६८ दिनको चक्र, तरलतामा दबाब
कार्यशील पूँजी व्यवस्थापन किरणको सबैभन्दा ठूलो समस्या बनेको छ। २०८०/८१ मा कम्पनीको परिचालन चक्र ४६८ दिन पुगेको छ, जुन तीन वर्षअघि २०७८/७९ मा २९५ दिन मात्र थियो। यसको अर्थ कम्पनीले कच्चा पदार्थ खरिददेखि बिक्रीबाट पैसा असुलीसम्म १ वर्ष ३ महिनाभन्दा बढी समय लाग्ने अवस्था आएको हो।
"२०८०/८१ मा कम्पनीको कार्यशील पूँजी तीव्रता १०७ प्रतिशत पुगेको छ, जसको अर्थ कम्पनीको कुल सम्पत्तिभन्दा बढी रकम दैनिक परिचालनमा बाँधिएको अवस्था छ," मूल्याङ्कन प्रतिवेदनमा भनिएको छ।
कच्चा पदार्थ आयातमा निर्भर रहेको यस कम्पनीको औसत कच्चा पदार्थ भण्डारण अवधि १३७ दिन पुगेको छ। त्यस्तै वितरकहरूलाई दिइएको ऋण अवधि लामो भएकाले औसत असुली अवधि पनि १७७ दिनसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ। यी दुवै कारणले गर्दा कम्पनीले आफ्नो कार्यशील पूँजी सीमाको ९० प्रतिशतभन्दा बढी निरन्तर प्रयोगमा राख्नुपरेको अवस्था छ।
स्थापित क्षमताको २९ प्रतिशत मात्र उपयोग
किरणको परिचालन दक्षतामा अर्को ठूलो प्रश्न उठाउने विषय भनेको कम क्षमता उपयोग हो। वार्षिक १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता उत्पादन गर्न सक्ने क्षमता भए पनि विगत चार वर्षको औसत उपयोग २९ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ। यसको अर्थ कम्पनीको ७१ प्रतिशत क्षमता बेकार बसिरहेको अवस्था छ।
"कम क्षमता उपयोगले कम्पनीको परिचालन दक्षतामा सीमा खडा गरेको छ। उत्पादन लागत प्रति इकाइ बढ्ने र स्थिर खर्च व्यवस्थापनमा समस्या हुने यस्तो अवस्थाले कम्पनीको समग्र प्रतिस्पर्धात्मकतामा असर पारेको छ," मूल्याङ्कनकर्ता संस्थाले जनाएको छ।
ऋण बोझ बढ्दै, ब्याजले नाफा खाँदै
कार्यशील पूँजी दबाबका कारण कम्पनीको ऋण निर्भरता निरन्तर बढ्दै गएको छ। २०८०/८१ मा किरणको कुल ऋण २ अर्व ९९ करोड २० लाख पुगेको छ, जुन दुई वर्षअघि २०७८/७९ मा रु. २ अर्व १० करोड ६० लाख मात्र थियो। कम्पनीको समग्र गियरिङ अनुपात ७.२३ गुणा रहेको छ, जसको अर्थ कम्पनीको आफ्नो पुँजीभन्दा सात गुणा बढी ऋण रहेको अवस्था हो। यसले गर्दा कम्पनीको ब्याज खर्च निकै उच्च रहेको र लाभप्रदतामा प्रत्यक्ष असर परेको छ।
"कम्पनीको सञ्चालन नाफा (ईबिटडीए मार्जिन) २०८०/८१ मा २२.१० प्रतिशत रहे पनि शुद्ध नाफा मार्जिन भने कम छ, जसको मुख्य कारण उच्च ब्याज खर्च हो," प्रतिवेदनमा उल्लेख छ। कम्पनीको ब्याज कभरेज अनुपात १.३५ गुणा मात्र रहेको छ। यसको अर्थ कम्पनीले आफ्नो परिचालन आम्दानीबाट ब्याज खर्च चुक्ता गर्न कठिन अवस्था भोगिरहेको हो।
नेपालको सबैभन्दा चिनिने जुत्ता ब्राण्डमध्ये एक 'गोल्डस्टार' किरणको मुख्य शक्ति हो। कम्पनीको ६० भन्दा बढी वितरकहरूको घरेलु सञ्जाल छ र भारतमा पनि दीर्घकालीन वितरण सम्झौता छ। लाभप्रदतामा पनि उल्लेखनीय सुधार आएको छ। २०७८/७९ मा १२.४८ प्रतिशत मात्र रहेकाे ईबिटडीए मार्जिन २०८०/८१ मा बढेर २२.१० प्रतिशत पुगेको छ।
तर यी सकारात्मक पक्षहरू कार्यशील पूँजी व्यवस्थापनको संरचनागत समस्या र कम क्षमता उपयोगको कमजोरीले ढाकेको अवस्था छ।"पाँच दशकको लामो अनुभव र बलियो ब्राण्ड भए पनि परिचालन दक्षताको यो स्तर चिन्ताजनक छ," एक बैंकिङ क्षेत्रका विशेषज्ञले भने, "कम्पनीले तत्काल कार्यशील पूँजी व्यवस्थापनमा सुधार गर्न र क्षमता उपयोग बढाउन सकेन भने दीर्घकालीन टिकाउपनमा नै प्रश्न उठ्न सक्छ।"
निर्यात बाधा थपिँदा समस्या बढ्यो
भारतले जुत्तामा बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि किरणको निर्यात करिब ३ देखि ४ महिना रोकिएको थियो। यसको प्रत्यक्ष असर कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा परेको छ। यस अवधिमा कम्पनीको राजस्व रु. ७९ करोड ६० लाख मात्र रहेको छ।
कम्पनीको शीर्ष १० ग्राहकहरूको योगदान कुल बिक्रीको ८४ प्रतिशत पुगेको छ, जसमा भारतको एकमात्र वितरक जीएफपीएलको हिस्सा उच्च छ। यसले ग्राहक केन्द्रीकरणको उच्च जोखिम सिर्जना गरेको छ। इन्फोमेरिक्सले आगामी दिनमा कम्पनीको कार्यशील पूँजी दक्षता सुधार, राजस्व र मार्जिनमा स्थिरता र क्षमता उपयोग वृद्धि गर्न सक्ने क्षमता नै मुख्य रेटिङ संवेदनशीलता हुने बताएको छ।
कम्पनीसँग अप्रिल २०२५ अन्त्यसम्म रु. १ अर्व २९ करोड ७० लाखको अर्डर हातमा रहेको भए पनि यसले संरचनागत समस्याको समाधान गर्न सक्दैन।