काठमाडौं। चाडपर्वको समय देशभर सार्वजनिक यातायात क्षेत्रमा चहलपहल बढ्ने गर्छ। लाखौँ यात्रुहरू सहरबाट आफ्ना गाउँघर जान र फर्कनका लागि सार्वजनिक सवारी साधन प्रयोग गर्छन्। तर, यस वर्षको दसैं भिन्न रह्यो। लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोले जाँदा प्रमुख राजमार्ग अवरुद्ध भए। सार्वजनिक यातायात सेवा ठप्प जस्तै भयो।
सामान्यतया देशभरका करिब चार लाख सवारी साधनमध्ये साढे तीन लाख यात्रुवाहक सवारी साधन दसैं तिहारको समय सक्रिय रहने गर्छन्। तर, यस वर्षको दसैंमा अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध हुँदा सार्वजनिक यातायातको क्षेत्रमा गम्भीर असर पुर्यायो।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले सडक सञ्जालमा गम्भीर असर पुर्याएपछि सार्वजनिक यातायात क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। यता, यात्रुहरूले अत्यधिक सास्ती भोग्न बाध्य भएका छन्। सामान्यतया चाडपर्वमा अर्थतन्त्रलाई चलायमान बनाउने यस क्षेत्रमा यो वर्ष प्राकृतिक प्रकोपले अप्रत्याशित धक्का दिएको छ।
३० प्रतिशत मात्रै कारोबार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार दसैं अघिदेखि अहिलेसम्म राम्रोसँग सवारीसाधन चलाउन नपाउँदा यसको ठूलो असर सार्वजनिक यातायातको क्षेत्रमा परेको छ।
कतिपय यात्रुहरू १०-१२ घण्टाको यात्राका लागि २४ घण्टाभन्दा बढी समय सवारी साधनमै बिताउन बाध्य भए।
"दसैंअघि नै अत्यन्त जिकज्याक गरेर ठूलो जोखिम लिएर सवारी साधन चलाउनुपरेको थियो," अध्यक्ष स्वार भन्छन्, "कहिले दुई दिन, कहिले तीन दिन लगाएर गाडीहरू गन्तव्यमा पुगेका छन्। जसका कारण सार्वजनिक यातायातको क्षेत्रमा धेरै ठूलो आर्थिक क्षति बेहोर्नु पर्यो।" बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन चल्न ठप्प हुँदा सार्वजनिक यातायातको कारोबार पनि निकै कम भएको उनको भनाइ छ।
चाडपर्वको समयमा उपत्यकाबाहिर आफ्नो गाउँघर फर्किन लाखौँ यात्रुहरू सडकमार्ग प्रयोग गर्छन्। तर, यो वर्षको दसैंमा बाढी र पहिरोका कारण यात्रुहरू लामो समयसम्म गन्तव्यमा पुग्न नपाएर सडकमा अलपत्र परे। कतिपय यात्रुहरू १०-१२ घण्टाको यात्राका लागि २४ घण्टाभन्दा बढी समय सवारी साधनमै बिताउन बाध्य भए। बाटोका कारण सडकमार्ग प्रयोग गरेर जाने यात्रु पनि हवाई यात्रा गरेर जान आउन बाध्य भए।
दसैंका बेला यातायात क्षेत्रमा करोडौं कारोबार हुने गरे पनि यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा त्यसको गम्भीर असर सार्वजनिक यातायातको क्षेत्रमा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौला बताउँछन्। "नेपालभरका करिब चार लाख सवारी साधनमध्ये साढे तीन लाख जति यात्रुवाहक सवारी साधन ट्याम्पोदेखि बससम्म दसैं-तिहारको समय सक्रिय हुन्छन्। यसबाट अर्थतन्त्र चलायमान हुन्छ," उनी भन्छनन्, "तर यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएका कारण कारोबार सामान्य समयभन्दा ३० प्रतिशत पनि पुग्न सकेन।"
सिटौलाका अनुसार नेपालमा करिब साढे तीन लाख यात्रुवाहक सवारी साधन छन्। दसैंमा यी सबै सवारी साधन पूर्ण क्षमतामा सञ्चालन हुँदा अर्बौं रुपैयाँको कारोबार हुन्थ्यो। जुन यसपटक सम्भव भएन।
विगतका वर्षको तुलनामा यस वर्ष दसैंको समयमा सार्वजनिक यातायातको क्षेत्रमा ३० प्रतिशत पनि कारोबार नभएको सिटौलाको भनाइ छ। "सामान्य समय दैनिक एक-दुई हजार गाडी मेची-महाकाली ओहोरदोहोर गर्छन् भने दसैंमा ५-७ हजार गाडी गुड्छन्," उनले भने, "यस वर्ष प्राकृतिक प्रकोपले सडक अवरुद्ध हुँदा धेरै सडक सुनसान भए। सामान्य अवस्थाको तुलनामा यसपटक कारोबार धेरै कम भएको छ।"
सिटौलाका अनुसार नेपालमा करिब साढे तीन लाख यात्रुवाहक सवारी साधन छन्। दसैंमा यी सबै सवारी साधन पूर्ण क्षमतामा सञ्चालन हुँदा अर्बौं रुपैयाँको कारोबार हुन्थ्यो। जुन यसपटक सम्भव भएन। काठमाडौंबाट बाहिरिने विभिन्न नाका नागढुंगा, बीपी राजमार्ग, अरनिको राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्छ। तर यस वर्ष प्राकृतिक प्रकोप बाढी पहिरोका कारण सडकको अवस्था राम्रो नहुँदा बीपी राजमार्ग त अझै पनि चल्न सकेको छैन। यस वर्षको दसैंले न यात्रुहरूलाई सहज यात्रा गरायो, न व्यवसायीहरूलाई आम्दानी। सार्वजनिक यातायात क्षेत्र नै सबैभन्दा बढी प्रभावित बनेको छ।
बाढी पहिरोका कारणले सार्वजनिक यातायात व्यवसायीहरूले प्रत्यक्ष रूपमा क्षति पाएका छन्। राष्ट्रिय राजमार्गदेखि सहायक मार्ग, ग्रामीण सडकहरू सबैतिर बाढी पहिरोले भत्काएका कारण गाडीहरू कहीं रेस्कु गरेर ल्याउनु पर्ने अवस्था थियो। कहीं गाडी नै जोखिममा परेर क्षतिविक्षत भएको थियो।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिना भन्छन्, दसैंको समयमा सडक अवरुद्ध भएर सवारीसाधन नचलेका कारण अपेक्षित यात्रु नहुँदा सार्वजनिक यातायात क्षेत्रमा करोडौंको आर्थिक नोक्सानी भएको छ। "बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा यात्रुलाई गन्तव्यमा पुर्याउन नसक्दा धेरै यात्रु हवाई यात्रा गर्न बाध्य भए, जसले गर्दा सार्वजनिक यातायातलाई ठूलो आर्थिक क्षति पुग्यो," बाढी पहिरोले सार्वजनिक यातायातको क्षेत्रमा नसोचेको असर गरेको उनको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष तिमल्सिनाका अनुसार सामान्य अवस्थामा भन्दा दसैंमा दैनिक १२ सयदेखि १५ सयको हाराहारीमा साना ठूला सार्वजनिक सवारीसाधनहरू उपत्यकाबाट बाहिरिने र त्यति नै मात्रामा भित्रिने क्रम रहने गरेको थियो। तर यसपालि उपत्यका बाहिरिने यात्रुको संख्या निकै कम भयो।
राम्रोसँग सार्वजनिक गाडी नचलेका कारण कारोबार न्यून भएपछि सार्वजनिक यातायात क्षेत्र आर्थिक रूपमा जर्जर अवस्थामा रहेको छ।
"हामीले ३५ देखि ४० लाखको हाराहारीमा यात्रु बाहिरिने आकलन गरेका थियौं र सोही अनुसार पूर्व तयारी पनि गरेका थियौं," वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले भने, "तर बाढी पहिरोका कारणले मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाको आधारमा पनि यात्रुहरूले त्यसलाई मध्यनजर गर्दै कम यात्रु निस्केका कारण पनि जे अपेक्षा गरेको, त्यो भएन।"
राम्रोसँग सार्वजनिक गाडी नचलेका कारण कारोबार न्यून भएपछि सार्वजनिक यातायात क्षेत्र आर्थिक रूपमा जर्जर अवस्थामा रहेको छ। जुन भोलुममा यातायात चल्नुपर्ने थियो, त्यो भोलुममा चल्न नसकेको उनले बताए।
"छोटो तथा मध्यम दूरीमा बिहान गएर बेलुका फर्कन सक्ने अवस्था थियो। त्यो अवस्था पनि बाटोका कारणले रहेन, यसले आर्थिक रूपमा धेरै नै असर गर्यो," उनले भने। सार्वजनिक यातायात यस पटकको दसैंको समयमा सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो। देशभरका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यात्रुले अत्यधिक सास्ती भोगे भने यातायात व्यवसायीहरूले ठूलो नोक्सानी बेहोर्नु पर्यो।
दसैंको बेला हुने सार्वजनिक यातायातको कारोबार यस वर्ष ठप्प जस्तै भयो। वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध हुँदा सार्वजनिक यातायातमा गम्भीर असर पर्नका साथै कारोबार पनि ठप्प जस्तै भएको हो।