डोटी । उचित संरक्षण नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।
विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावर हाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्याएपछि अहिले सो पावर हाउस बेवारिसे अवस्थामा पुगेकाे छ ।
पावर हाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युतका महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । उनले भने, “पहिरोले सामान्य क्षति पुर्याएको पावर हाउस मर्मत नगर्दा बेवारिसे बनाइयो, अहिले सामान चोरी हुँदैछ, कसैले वास्ता गरेका छैनन् ।”
बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पुर्याएपछि अहिलेसम्म सो पावर हाउसको मर्मतकार्य नगरिँदा र पावर हाउसमा कर्मचारीसमेत बस्न छाडेका छन् ।कर्मचारी नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताए ।
उनले भने, “पावरहाउसमा कोही पनि बस्दैनन्, राम्रा र महङ्गा सरसामान कवाड हुँदैछन् भने कयाैँ सामान चोरी हुन थालेका छन् ।”
डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पुर्याएको सो पावर हाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।
पावरहाउस पुनःनिर्माण गरी विद्युत् सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युतमा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ हुन थालेको विद्युत् कर्मचारी बताउँछन् ।
उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ । कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई ।
धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ । डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताए । रासस